काठमाडौँ । विदेशी मुद्रा सञ्चिति २० खर्ब नाघेको छ ।
विदेशी विनिमय सञ्चिति एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि भएर २० खर्ब नाघेको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक तथा वित्तिय अवस्थाको प्रतिवेदन अनुसार कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको छ । गत आर्थिक वर्षको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।
एक वर्षको अवधिमा साढे १४ खर्ब रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.५ प्रतिशतले बढि हो । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष मासिक १ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा मुलुकको मुल्यवृद्धि दर ५.४४ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको वार्षिक वित्तिय प्रतिवेदन अनुसार मुल्यवृद्धि ५.४४ प्रतिशत कामय भएको हो । यो आर्थिक वृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा २.३ प्रतिशत विन्दुले घटेको हो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मुल्यवृद्धि ७.७४ प्रतिशत रहेको थियो ।