images
images

किन जाने पाँचपोखरी र जट्टापोखरी ?

जिरी(दोलखा) । दोलखा र रामेछापको सिमाना पर्ने धार्मिक एवम् ऐतिहासिक पाँच पोखरी तथा जट्टा पोखरी प्रकृतिको अनुपम उपहारको रुपमा रहेको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको पाँच पोखरी तथा जट्टा पोखरीमा यो जनैपूर्णमाको बेला भव्य मेला लाग्ने गरेको छ । यो बर्षपनि भोली जनै पूर्णिमाको दिन यहाँ भव्य मेला लाग्दै छ । मेला भर्नका लागि केही दिन अघि देखि नैं दर्शनार्थी पुग्ने गर्दछन् । यो धार्मिक एवँ पर्यटकीय महत्वको स्थलमा पुग्न जिरी बजारबाट पुम्पा–गर्जाङ हुँदै करिव २ दिनको पैदल यात्रा पछि पुग्न सकिन्छ ।

दोलखा र रामेछापको सिमाना भएर बग्ने खिम्ती खोला पार गरेर गएपछि जट्टापोखरी पुगिन्छ । जट्टापोखरीबाट करिव १ घण्टा ठाडो उकालो चढेपछि पाँचपोखरी पुगिन्छ ।

पौराणिक किंवदन्ती अनुसार ४ हजार ५ सय ५ मिटरको उचाईमा रहेको पाँच पोखरी माता पार्वतीले पाँच वटा पाँचकुने कुण्ड बनाएर तपस्या गरेको ठाउँ भन्ने गरिन्छ । यस्तै ४ हजार २ सय ५० मिटरको उपचाइमा रहेको जट्टा पोखरीलाई महादेवको जट्टा भएको स्थानको रुपमा लिने गरिन्छ । एउटै पोखरीमा प्राकृतिक रुपमा वीच–वीचमा उठेका बाँधहरुले पोखरीलाई पाँच वटा कुण्डमा विभाजन गरेको छ । पाँच पोखरीबाट निस्किएको पानी जट्टा पोखरीमा झर्ने गर्दछ ।

प्रत्येक वर्षको जनै पूर्णिमाका दिन पाँच पोखरी र जट्टा पोखरीमा भव्य मेला लाग्दै आएको छ । मेला भर्न दोलखा, रामेछाप, ओखलढुंगा, सोलुखुम्बु लगायत आसापासका जिल्लाहरु तथा भारतको सिक्किमवाट समेत दर्शनार्थीहरु आउने गर्दछन् ।

दर्शनार्थीहरुले त्रिशुल, घोगा मकै, पूmल, भेटी, काँक्रा, फर्सी जस्ता जैविक स्रोतहरू लिएर चढाउँछन् । पाँच पोखरी तथा जट्टा पोखरीमा क्षेत्री, ब्राम्हण समुदायले गाईको दुध र शेर्पा समुदायले चौंरीको दुध चढाउने गरेका छन् । दर्शनार्थीहरु पवित्र पोखरीमा यी बस्तुहरु चढाई शुद्ध मनले आफ्नो शिरमा पोखरीको पानी राखेमा मनोकांक्षा पुरा हुन्छ भन्ने विश्वास लिई फर्किने गरेका छन ।

दर्शनार्थीहरुले सुस्वास्थ्य, धन आर्जन तथा बालिनाली र पशुपालन राम्रो होस् भनेर पनि पुजा आराधना गर्छन् । यहाँ लाग्ने मेलामा सन्तान नभएका दम्पतीहरुले खाली कोक्रो बोकेर सन्तान माग्दै ध्यान गरेको दृश्य अझ चर्चित छ । सन्तान प्राप्तिपछि यस्ता दम्पती आफ्ना छोराछोरीलाई समेत लिएर दिर्घायु सहितको वरदान माग्न पुनः पाँच पोखरी, जट्टापोखरी पुग्ने गर्दछन् ।

पाँचपोखरी, जट्टा पोखरी पुग्नका लागि रामेछापको गोकुलगंगा गाउँपालिकाको चुचुरेवाट पनि जान सकिन्छ । उमाकुण्ड गाउपालिको देउराली हुँदै सेरदिङमा बास बसेर पनि एक दिनमा सो स्थानमा पुग्न सकिन्छ ।

उकाली ओराली गर्दै रमाईलो पदयात्रा गर्दा यार्सागुम्बा, जटामसी, पदमचाल, सुनपाति, जंगली च्याउ, ठुलो ओखती, थलचर र उभयचर पाइन्छ भने चरी बाघ, घोरल, कस्तुरी, मृग, दुम्सी, भालु, हिउँ चितुवा, पाटे बाघ, निङाले चितुवा, बँदेल, फ्याउरो, सालक लगायतका वन्यजन्तु पनि देख्न सकिन्छ । यात्राको क्रममा भालुको आक्रमणवाट जोखिन भने जरुरी छ । उच्च पहाडी क्षेत्रको हावापानी, वनस्पती, जडीबुटी, खोला, झरनाहरुले यात्रीहरुको मन आनन्दित बनाउँछ ।

यात्राका क्रममा आफुले खाने सामाग्रि र बास बस्नकालागि टेन्ट अनिर्वाय लिएर जानु पर्नेछ । किनकी उच्च हिमाली क्षेत्र भएका कारण सो क्षेत्रमा बस्न र खानको व्यवस्था छैन । मेला लागेका बेला त्रिपालको सहारमा बनाईएका केही साना होटलहरुमा चिया, चाउचाउ, थुक्पा लगायतका खानेकुरा पाए पनि अन्य व्यवस्था छैन ।

पाँचपोखरी, जट्टापोखरीको यात्रा अलि कस्टकर जस्तो भएपनि पदयात्रीकालागि भने स्वर्गको यात्रा सरह हुने दर्शनार्थीहरु बताउँछन् ।