images
images

कालिञ्चोकका शिवाकोटीले नयाँ जिवन पाए, खोलामा बेपत्ता भएको २२ घण्टापछि सकुशल उद्धार

  • २ आश्विन २०७९, आईतवार ११:१९

जिरी (दोलखा) । सिन्धुपाल्चोकको एक खोलामा नुहाउने क्रममा हिजो बेपत्ता भएका दोलखाको कालिञ्चोक गाउँपालिकाका एक पुरुषको २२ घण्टामा सकुशल उद्धार गरिएको छ ।

कालिञ्चोक गाउँपालिका ३ घर भएका ३७ वर्षीय केशव शिवाकोटीको सकुशल उद्धार गरिएको हो । हेलम्बु गाउँपालिका वडा नम्बर–१ स्थित छ्यादी खोलामा नुहाउने क्रममा ढुङ्गामा चिप्लिएर बेपत्ता भएका शिवाकोटी खोलाको खोँचमा ढुङगा माथि जिवितै फेला परेपछि उद्धार टोली खटिएका थिए । उनको उद्धारका लागि आज विहान हेलिकप्टर र सेनाको टोली घटनास्थल आइपुगेको थियो ।

आज विहान करिब ११ बजे हेलिकप्टर मार्फत उद्धार गरिएको उनको स्वास्थ्य अवस्था सामान्य भएपनि परिक्षणका लागि काठमाण्डौं लैजाने तयारी भइरहेको हेलम्बु –१ का वडाध्यक्ष दावा ग्याल्जेन लामाले जानकारी दिनुभयो । दोलखा घर भएका शिवाकोटी हेलम्बु गाउँपालिका वडा नम्बर–१ मा रहेको सर्कथली आधारभूत विद्यालयका शिक्षक हुन् । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सहित स्थानीय र जनप्रतिनिधिले उनको उद्धारमा खटेका थिए । रातभर उद्धारका लागि गुहार माग्दै चिच्याएको र विहान हुँदा पनि बचाउन–बचाउ भन्न नछाडेको उद्धारपछि शिवाकोटीले बताएका छन् ।

लडेपछि पौडीदै खोलाको कोप्चामा पुगेको र त्यहाँ रहेको ढुङगामा उक्लिएर रातभर उद्धारको पर्खाईमा बसेको उनको भनाई छ । उनले बचाउ–बचाउ भनिरहँदा विहान खोला नजिकै घास काट्न पुगेका एक वृद्धले आवाज सुनेपछि स्थानीय र पालिका प्रमुखलाई खबर गरेका थिए ।