images
images

शैलुङ गाउँपालिकामा ५९ जना क्यान्सरका विरामी, एक वर्षमा १२ को मृत्यु

दोलखा । दोलखाको शैलुङ गाउँपालिकामा गत आर्थिक वर्ष २०८०÷०८१ मा १२ जनाको क्यान्सरका कारण मृत्यु भएको छ ।

गाउँपालिकामा गत वर्ष ५९ जना क्यान्सरका बिरामी रहेकोमा १२ जनाको मृत्यु भएको हो । गत वर्ष क्यान्सरका कारण ७ जना महिला र ५ पुरुषले ज्यान गुमाएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुबहादुर कार्कीले जानकारी दिनुभयो । शैलुङ गाउँपालिकामा गत वर्ष ७८ जना दिर्घरोगीले औषधी उपचार खर्च वापत २९ लाख ७२ हजार १५० रुपैयाँ लिएका छन् ।

औषधी उपचार खर्च लिने ७८ जनामध्य ५९ जना क्यान्सरका बिरामी रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कार्कीले बताउनुभयो । यो तथ्यांकले शैलुङमा क्यान्सरका बिरामी अधिक रहेको देखाएको छ । यस्तै, गत वर्ष डायलायसिस गराईरहेका १३, मृगौला प्रत्यारोपण गरेका २ र मेरुदण्ड पक्षघातका ४ जना बिरामीले उपचार खर्चवापतको रकम लिएको गाउँपालिकाले जनाएको छ ।

सरकारले दिर्घरोगीहरुलाई प्रत्येक महिना मासिक ५ हजारका दरले रकम उपलब्ध गराउँदै आएको छ । सोही अनुसार गत वर्ष ४४ जना पुराना र ३४ जना नयाँ गरी ७८ जनाले रकम लिएका हुन् । गत वर्षसम्म गाउँपालिकाबाट औषधी उपचार खर्च लिएका मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई चालु आर्थिक वर्षमा पनि औषधी उपचार खर्च प्राप्त गर्न नविकरण गर्नुपर्दछ ।

सोही अनुसार पालिकाले वडा वडाबाट पुरानालाई नविकरण गर्न र नयाँ गम्भीर प्रकृतिका विरामीलाई उपचार खर्चवापतको रकम लिन आवेदन दिन भनेको छ । नविकरणका लागि भाद्र २४ गते सूचना जारी गरी १५ दिनभित्र आफ्नो फलोअपको कागजात पेश गर्न भनिएको छ ।

औषधी उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्यबिधि, २०७८ को दफा ६ अनुसार प्रत्येक आर्थिक वर्षको सुरुमा प्रत्येक लाभग्राहीहरुले सम्बन्धित वडा कार्यालयमा नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।