दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका –५ मैनापोखरीस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाले एक वर्षको अवधिमा १ करोड नाफा आर्जन गरेको छ ।
सहकारीले गत आर्थिक वर्ष २०८०/८१ मा १ करोड ७ लाख ८५ हजार ३१७ रुपैयाँ खुद बचत (नाफा) आर्जन गरेको हो । सहकारीले ३ करोड नाफा आर्जन गर्ने लक्ष्य राखेपनि लक्ष्यको आधाभन्दा कम नाफा आर्जन भएको छ । सहकारीको साधारणसभाको अवसरमा सार्वजनिक गरिएको वित्तिय प्रतिवेदन अनुसार साकोसको शेयर पूँजी १० करोड, ९६ लाख १४ हजार ८०० रहेको छ भने संस्थागत पूँजी ९ करोड, २ लाख, ३२ हजार ९६७ रुपैयाँ रहेको छ । २२ हजार ६०० सदस्य रहेको सहकारीको १ अर्ब १० करोड, ८० लाख, २६ हजार, ३२० रुपैयाँ बचत रहेको छ । सहकारीले गत आर्थिक वर्ष १ अर्ब २ करोड, ९५ लाख ३९ हजार ६२९ रुपैयाँ ऋण लगानी गरेको छ ।
सहकारीले गत आर्थिक वर्ष मृत्यु भएका ५० जनाको परिवारलाई पारिवारिक सुरक्षा योजना अन्र्तगत १२ लाख ८३ हजार ३ सय राहत प्रदान गरेको छ । जनमुखी साकोसको भदौ २९ गतेदेखि सुरु भएको साधारणसभा अन्र्तगत हालसम्म ५ वटा एकाईको साधारणसभा सम्पन्न भएको छ । सहकारीको अन्तिम साधारणसभा शनिबार मैनापोखरीमा हुनेछ ।
वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै जनमुखी साकोसका सचिव लक्ष्मण चौँलागाईले सहकारीले गत आर्थिक वर्ष मृत्यु भएका ५० जनाको परिवारलाई पारिवारिक सुरक्षा योजना अन्र्तगत १२ लाख ८३ हजार ३ सय राहत प्रदान गरिएको जानकारी दिनुभयो । यस्तै, सहकारीले ७५ वर्ष उमेर पुगेका ३४ जना शेयर सदस्यलाई जीवनवृत्ति भत्ता वापत २ लाख प्रदान गरेको छ भने क वर्गका अपांगता भएका २० जना सदस्यलाई १ लाख १९ हजार ५ सय प्रदान गरेको छ ।
सहकारीले ७५ वर्ष माथिका शेयर सदस्य र क वर्गका अपांगता परिचयपत्र प्राप्त सदस्यलाई मासिक ५ सयका दरले भत्ता प्रदान गर्दै आएको छ । सहकारीको आज चरिकोटस्थित हाम्रो रेडियोको सभाहलमा सम्पन्न साधारणसभामा यस्तो प्रतिवेदन सार्वजनिक गरिएको हो । संस्थाका अध्यक्ष माधव दाहालको अध्यक्षतामा सम्पन्न साधारणसभाको जिल्ला सहकारी सँघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहालले उद्धघाटन गर्नुभयो ।
जनमुखी साकोसको भदौ २९ गतेदेखि सुरु भएको साधारणसभा अन्र्तगत हालसम्म ५ वटा एकाईको साधारणसभा सम्पन्न भएको छ । हालसम्म जुँगु, गैरीमुदी, नाम्दु, क्षेत्रपा, मार्बु, चिपचिपे, निगाले र चरिकोट क्षेत्र अन्र्तगतका ५ वटा ईकाईको साधारणसभा सम्पन्न भएको हो । सहकारीको अन्तिम साधारणसभा शनिबार मैनापोखरीमा हुनेछ ।