काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक भएको हो । जसअनुसार स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय दिइएको छ । यसैगरी, असोज २० गते दल दर्ता स्वीकृत गर्ने, कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, कात्तिक ३०मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र मंसिर २ देखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगको कार्यतालिका छ । त्यसपछि मंसिर १६ मा निर्वाचन हुनेछ ।
उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कार्यहरूलाई समयबद्ध रूपमा समावेश गरी आयोगबाट कार्यतालिका स्वीकृत भएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।