images
images

दोलखासहित २८ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र सार्वजनिक

  • १ कार्तिक २०७९, मंगलवार ०९:३४

दोलखा । निर्वाचन आयोगले प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये २८ वटा निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र सावर्जनिक गरेको छ ।

आयोगले दोलखासहित १९ जिल्लाका २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र सावर्जनिक गरेको हो । आयोगले कैलालीका ५ निर्वाचन क्षेत्र, कञ्चनपुरका ३ वटा निर्वाचन क्षेत्र, अछाम,सुर्खेत र दैलेखका दुई/दुई वटा निर्वाचन क्षेत्र तथा बाँकी प्रतिनिधिसभामा एउटा निर्वाचन क्षेत्र मात्रै रहेका जिल्लाको प्रत्यक्षतर्फको मतपत्र सावर्जनिक भएको हो ।जसअनुसार दोलखाको पनि मतपत्र सावर्जनिक भएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दोलखामा ३ लाख ५९ हजार मतपत्र छुट्याइएको छ । प्रतिनिधिसभातर्फको १ लाख ७८ हजार मतपत्र, प्रदेशसभातर्फ प्रदेश क मा ९१ हजार तथा ख का लागि ९० हजार मतपत्र छुट्याइएको छ ।

यसैबिच, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ५ सय ३ प्रकारको मतपत्र हुने भएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३ सय ३० क्षेत्रका फरकफरक मतपत्र हुनेछन् । समानुपातिकतर्फको प्रतिनिधिसुभाको मुलुकभर एउटै र सात प्रदेशका लागि ७ प्रकारका मतपत्र हुनेछन् । राजनतिक दलले २०७४ को निर्वाचनमा समानुपातिकतर्फको पाएको मतपत्रमा चिन्हको क्रम राखिएको छ । प्रदेशको मतपत्रमा प्रदेशमा समानुपातिकमा प्राप्त मत संख्यालाई आधार बनाइएको छ । निर्वाचन आयोगले प्रदेशअनुसार फरकफरक मतपत्रको ढाँचा बनाएर छापिरहेको छ । समानुपातिकका लागि ४ करोड मतपत्र छपाइसकेको र प्रत्यक्षतर्फको मतपत्र छपाई जारी रहेको आयोगले जनाएको छ ।