काठमाडौँ । बाढीपहिरोका कारण अझै ७०० मेगावाट बिजुली प्रणालीमा ल्याउन सकिएको छैन ।
बाढी पहिरोका कारण जलबिद्युत आयोजना तथा प्रसारण प्रणालीमा क्षति पुग्दा अझै ७०० मेगावाट बिजुली प्रणाली बाहिर रहेको हो । गत असोजमा गएको बाढी पहिरोका कारण दोलखाको तामाकोशी जलबिद्युत आयोजना सहित ११ जलबिद्युत आयोजनामा क्षति पुगेको थियो ।
बाढीले ४५६ मेगावाटको अपर तामाकोशी, २२ मेगावाटको बागमती साना जलबिद्युत आयोजना, ८६ मेगावाटको सोलु दूधकोशी, ३ मेघावाटको माईखोला क्यासडेडमा क्षति पुगेको थियो । यस्तै ९.६ मेगावाटको माईखोला, १ मेगावाटको फेमे खोला, ५ मेगावाटको सिउरी खोला, २ मेगावाटको खानी खोला, ४.३६ मेगावाटको टुङ्गुन ठोस्ने, २२.१ मेगावाटको तल्लो हेवाखोला र १४.९ मेगावाटको हेवाखोला ए मा बाढीले क्षति पुगेको थियो ।
गत असोज ११ गते भारतमा निर्यातका लागि गरिएको बिडअनुसार बिजुली दिन नसक्दा भने जरिवाना पेनाल्टी समेत रकम फिर्ता गर्नु परेको प्राधिकरणले जनाएको छ । हाल भारतमा निर्यात भैरहेको बिजुलीको परिमाण पनि घटेको छ । सामान्य अवस्थामा भारतमा दैनिक करिब ९ सय मेगावाट बिद्युत निर्यात भैरहेकोमा बाढी पहिरोपछि निर्यात परिमाण खुम्चिएको हो ।
केही समय दैनिक डेढ सयम मेगावाट बिजुली मात्रै निर्यात भैरहेकोमा हाल केही बढेको छ । हाल दैनिक ३ सय मेगावाट बिजुली निर्यात भैरहेको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ ।
गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको बिद्युत निर्यात गरी खुद बिद्युत आयातकर्ता नेपाल खुद बिद्युत निर्यातकर्ता बनेको थियो ।