काठमाडौँ । प्रहरीले पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको छ ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेविरुद्ध पक्राउ पूजी जारी भएको हो । पोखराको सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको बताईएको छ । पक्राउ पूर्जी लिनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबुओलीया र डिएसपी बसन्त शर्मा आँफै अदालत पुगेका थिए ।
अदालतको अनुमतिपछि प्रहरीले लामिछानेलाई काठमाडौँबाट पक्राउ गरि कास्की लैजाने तयारी गरेको छ । पार्टी सभापति लामछिानेविरुद्ध पक्राउ पूर्जी जारी भएपछि रास्वपाको पार्टी केन्द्रीय कार्यालयमा ठूलो संख्यामा समर्थक जम्मा भएका छन् ।
काठमाडौं वनस्थलीमा रहेको पार्टी कार्यालय परिसरमा अहिले धेरै संख्यामा प्रहरी समेत परिचालन भएका छन् । रास्वपाका सभापति लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पार्टी कार्यालय, वनस्थली पुगेको छ।
आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सभापति लामछिानेले कडा प्रतिक्रिया दिएका छन्। लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकार मरेको र आफूहरूलाई जुठो परेको प्रतिक्रिया दिएका हुन्। साथै लामिछानेले तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ? भन्दै प्रश्न गरेका छन् ।