काठ्माडौँ । पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
लामिछानेलाई प्रहरीले रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ गरेको हो । प्रहरीले आजै अदालतबाट अनुमति लिएर लामिछानेलाई पक्राउ गरेको हो । कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि भन्दै अदालतबाट लामिछानेविरुद्ध पक्राउ अनुमति लिएको थियो ।
अदालतको अनुमति लगत्तै कास्की प्रहरीले पक्राउ गरि बुझाईदिन आग्रह गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी), काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्त कुमार शर्माको पत्र पाएलगत्रै तिनै युनिटका प्रहरी रास्वपकाको पार्टी कार्यालय बनस्थली पुगेका थिए । लामिछानेलाई पक्राउ अनुमतिपछि रास्वपाको कार्यालयमा नेता कार्यकर्ता तथा समर्थकको पनि भिड लागेको थियो ।
सहकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पूर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले लामिछानेसँगै विशाल तामाङ, नवीन अछामी, दीपक लामा लगाएतविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको हो । उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ३ बमोजिम पक्राउ पूर्जी जारी भएको छ । लामिछानेविरुद्ध सहकारी ठगी सँगसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको खुलेको छ ।
सत्तारुढ नेकपा एमालेका सांसद सुर्य थापाको नेतृत्वमा सहकारी समस्याबारे छानबिन गर्न १५ जेठमा बनेको संसदीय विशेष समितिले लामिछानेका साथै छविलाल जोशी, जिवि राई लगाएतलाई कारबाही गर्न सिफारिस गरेको थियो । उनीहरुले सहकारीको रकम गोर्खा मिडियामा ल्याएर हिनामिना गरेको आरोप छ । पोखराको सुर्यदर्शन समेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको थियो ।
तस्वीर: गिरफ्तारी दिनु अघि पार्टी केन्द्रीय कार्यालयमा घण्टी बजाउँदै रास्वपा अध्यक्ष रवि लामिछाने ।