images
images

मतदान सकिएपछि सुरक्षा निकायको स्कटिङमा मतपेटिका ल्याइने

  • २ मंसिर २०७९, शुक्रबार १६:१६

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सकिएपछि सुरक्षा निकायले स्कटिङ गरेर भाडाको गाडीमा मतपत्र ल्याउने भएको छ ।

बन्द मतपेटिका कसरी ढुवानी गर्ने भन्नेबारे केन्द्रिय सुरक्षा समिति र उच्चस्तरीय निर्वाचन सुरक्षा समितिमा छलफल भएको थियो । छलफलमा सशस्त्र प्रहरी बलका आईजीपि राजु अर्यालले मतदान गरेपछिको बन्द मतपेटिका सुरक्षा निकायको गाडीमा ढ्वानी गर्दा विवाद हुन्छ भन्दै आफ्नो संगठनको गाडीमा नबोक्ने अडान लिएका थिए । आइजिपिको अर्यालको अडानपछि गृहमन्त्रालयले बन्द मतपेटिका सुरक्षा निकायको गाडीमा ढुवानी नगर्ने निर्णय गरेको हो । सुरक्षा निकाय बाहेकको सवारी साधन भाडामा लिएर मतपेटिका ढुवानी गर्ने निर्णय गरिएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सवारी भाडामा लिएर ढुवानी गर्ने र सुरक्षा निकायले स्कटिङ गर्ने निर्णय गरिएको हो । सवारी साधन नचल्ने र बोकेर ढुवानी गर्नुपर्ने ठाउँमा सेनाm प्रहरी र सशस्त्रको साथमा ढुवानी गर्नुपर्नेछ । गाडी नचल्ने र ४–५ घण्टा हिँडेर ढुवानी गर्न सकिने ठाउँमा सुरक्षाकर्मीको साथमा बोकेर ढुवानी गरिएको सहसचिव पोखरेलले बताउनुभयो । गाडीमा मतपेटिका ढुवानी गर्दा सशस्त्र र सेनाले स्कटिङ गर्नेछ भने मतपेटिका राखिएको गाडीमा दलका प्रनितिधि र मतदान अधिकृत सँगै हुनेछन् ।

बन्द मतपेटिका ढुवानीका लागि गाडी भाडामा लिएर परिचालन गर्न ९ करोड बजेट विनियोजन गरिएको छ । सो बजेट प्रमुख जिल्ला अधिकारीले खर्च गर्नेगरी देशभरका जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । यस्तै हिमाली क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिनेछ ।