जिरी (दोलखा) । दोलखाको विगु गाउँपालिकास्थित लप्चीखोला जलविद्युत आयोजनाको काम ठप्प भएको छ ।
बिगू गाउँपालिका वडा नम्बर १ लप्चीमा निर्माणाधीन लप्चीखोला जलविद्युत आयोजनाको काम ५ दिनदेखि ठप्प भएको हो । लप्चीमा एमभी दुगड ग्रुपले प्रवद्र्धन गरेको नासा हाइड्रोपावर कम्पनीले १६० मेगावाटको लप्ची जलविद्युत आयोजनाको पूर्वाधार निर्माण गरिरहेको छ । तर, पछिल्लो पटक आयोजनाले स्थानीयलाई बेवास्ता गरेको भन्दै स्थानीयले काम बन्द गराएका छन् ।
आयोजनालाई आवश्यक जनशक्ति स्थानीयको सीप र दक्षता अनुसारको रोजगारीको माग गर्र्दा काम गरिरहेका कर्मचारीहरुलाई समेत कामबाट निकालिएपछि स्थानीयले काम बन्द गराएका हुन् । आयोजनाबाट २ पटक गरि ३७ जनालाई कामबाट निष्कासन गरिएको छ । आयोजनाका कामदारहरुलाई कामबाट निकालिएपछि विभिन्न माग राखेर स्थानीयले कार्तिक २८ गतेदेखि आयोजनाको काम ठप्प पारेका छन् ।
कामबाट निकालिएका मजदुरको पुनर्बहाली गर्नुपर्ने, सामाजिक विकासमा आयोजनाले काम गर्नुपर्ने, आयोजनाका गतिविधि पारदर्शी हुनुपर्ने लगायतका माग पूरा गराउन काम सञ्चालन गर्न नदिईएको स्थानीयबासीले बताएका छन् ।
आयोजनास्थल पुग्ने पहुँचमार्ग अन्तर्गत हाल निर्माणाधिन सुरुङमार्ग र आउटलेटमा करिब १ सय २० जना कर्मचारी कार्यरत रहेका छन् ।










