दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको विषयलाई लिएर स्थानीयले तामाकोशी–मन्थली सडक अवरुद्ध पारेका छन् ।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तामाकोशी गाउँपालिका–१ का २२ वर्षिय सुशिल माझिको मृत्यु भएको विषयलाई लिएर स्थानीयले आज विहानैदेखि सडक अवरुद्ध पारेका हुन् । उनीहरुले सडकमै शव राखेर प्रदर्शन गरिरहेको दोलखाका प्रहरी निरिक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो । तामाकोशी–मन्थली सडक अवरुद्ध भएसँगै सवारीका साधन आवतजावत गर्न पाएका छैनन् ।
आज विहान तामाकोशीबाट भिरकोटतर्फ जाँदै गरेको बा २९ प ११६२ नम्बरको मोटरसाइकल र किर्नेटारबाट तामाकोशीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१००३ क ९३५९ नम्बरको फोर ह्विल ट्रक गोपिखोला नजिकै आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।दुर्घटनामा परी माझिको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एक पुरुष गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी स्थानीय माइकल माझि गम्भिर घाईते भएका हुन् ।
उनलाई सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट पुरुषको मृत्यु भएपछि अवरुद्ध भएको सडक खुलाउने विषयमा अहिले किर्नेटारमा छलफल भइरहेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक खड्काले जानकारी दिनुभयो । पीडित पक्ष, वडाअध्यक्ष र सवारी धनीबीच वार्ता चलिरहेको उहाँले बताउनुभयो ।