images
images

तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

  • ३ पुष २०७९, आईतवार १६:४३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन पालिका अध्यक्ष सलाम लामा र प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछानेसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । नदिजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा ५ जना ठेकेदारसहित उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो । २०७५ साल मंसिरमा नदीजन्य पदार्थ उत्खनन् र संकलन गर्नेबारे प्रकाशित सूचनालाई लत्याएर कबोल अंकभन्दा घटी संझौता रकम कायम गरेर ठेक्का संझौता गरेको र संझौता विपरित सम्पूर्ण बगर क्षेत्रमा उत्खनन् गर्न दिएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला समन्वय समितिको सिफारिसमा प्राविधिक उपसमितिको निगरानीमा मात्र स्काभेटर प्रयोग गरेर उत्खनन् गर्न सकिने भएपनि मिलेमतोमा जनप्रतिनिधिले आफूलाई नभएको अधिकार प्रयोग गरेर स्काभेटर प्रयोग अनुमति दिएको अख्तियारको आरोप छ । ठेकेदारसँग मिलेमतो गरेर ठेक्का संझौता गरेका कारण २ करोड ५७ लाख राजस्व कम संकलन कम भएको आयोगको अनुसन्धान निष्कर्ष छ । आयोगले तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध ५ करोड १४ लाख जरिवाना हुन मागदावी लिएको छ ।