images
images

चालु वर्षको तीन महिनामा विद्युत प्राधिकरण ९ अर्ब ११ करोड नाफामा

  • ३ पुष २०८१, बुधबार ०६:२७

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले तीन महिनाको अवधिमा ९ अर्ब बढी नाफा आर्जन गरेको छ ।

प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको हो । चालु वर्षको साउनदेखि असोज मसान्तसम्म कुल ४१ अर्ब ८० करोड ६८ लाख आम्दानी गरेको प्राधिकरणले ३२ अर्ब ६९ करोड ३६ लाख बराबर खर्च गरेको छ । तीन महिनाको अवधिमा सञ्चालन तथा सम्भार वापत सो रकम खर्च भएको हो ।

प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट ८७ करोड ५२ लाख र अन्य नीजि उत्पादक कम्पनीबाट ३ अर्ब २२ करोड ९५ लाख गरी कुल ४ अर्ब १० करोड ४७ लाख युनिट विद्युत खरिद गरेको छ । विद्युत खरिद वापत २१ अर्ब ९ करोड १७ लाख भुक्तानी गरिएको छ भने नेपाल सरकार र वैदेशिक सहयोग एवम् लगानीमार्फत १६ अर्ब ९३ करोड ९१ लाख २७ हजार खर्च भएको प्राधिकरणले जनाएको छ । विभिन्न आयोजना र विद्युतीकरणका लागि सो रकम खर्च गरिएको हो ।

प्राधिकरणले असोजको दोस्रो साताको बाढीका कारण अपेक्षित विद्युत निर्यात हुन नसकेपनि भारततर्फ १ अर्ब ४० करोड ६१ लाख विद्युत निर्यात हुँदा १० अर्ब ८८ करोड ८७ लाख बराबरको आम्दानी गर्न सफल भएको छ ।