
हेटौँडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ५ महिनामा १५ अर्ब ३६ करोड राजश्व संकलन गरेको छ ।
प्रदेश सरकारले चालु वर्षको साउनदेखि मंसिर सम्मको अवधिमा १५ अर्ब ३६ करोड ८८ लाख ७६ हजार ८७० रुपैयाँ राजश्व संकलन गरेको हो । जुन लक्ष्यको २३.८१ प्रतिशत हो । ५ महिनाको अवधिमा बाँडफाँटबाट प्राप्त राजश्व वापत ८ अर्ब ६५ करोड ६६ लाख ४२ हजार ६ सय रुपैयाँ संकलन भएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
त्यसमध्य सबैभन्दा बढि बाँडफाँडबाट प्राप्त हुने मुल्य अभिवृद्धि कर वापत करिव ३ अर्ब राजश्व संकलन भएको छ । मुल्य अभिवृद्धि कर वापत २ अर्ब ९९ करोड ५५ लाख ५२ हजार ९६० रुपैयाँ संकलन भएको हो । यस्तै, बाँडफाँड भई प्राप्त हुने सवारी साधन कर वापत २ अर्ब ८२ करोड ८ लाख १३ हजार १४० र रजिष्ट्रेशन दस्तुर वापत १ अर्ब ६५ करोड ५७ लाख ३४ हजार राजश्व संकलन भएको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार संघीय सरकारबाट प्राप्त अनुदान वापत ५ अर्ब १२ करोड ७० लाख ४० हजार ७६० रुपैयाँ राजश्व संकलन भएको छ । त्यसमध्य समानीकरण अनुदान वापत ४ अर्ब १२ करोड १७ लाख, शसर्त अनुदानतर्फ ७१ करोड २८ लाख ६१ हजार ७६० र पूँजीगत अनुदान वापत २९ करोड २४ लाख ७९ हजार संकलन भएको मन्त्रालयको तथ्यांक छ ।
आफ्नो स्रोतबाट १ अर्ब ४९ करोड
बागमती प्रदेश सरकारले सोही अवधिमा आफ्नो स्रोतबाट १ अर्ब ४९ करोड ३७ लाख १२ हजार ३९० रुपैयाँ राजश्व संकलन गरेको छ । चालु वर्ष आफ्नो स्रोतबाट ४ अर्व ५३ करोड ८४ लाख ७९ हजार ५ सय राजश्व संकलन हुने अनुमान गरेको प्रदेश सरकारले ५ महिनामा ३२ दशमलव ९१ प्रतिशत राजस्व संकलन गरेको हो । जसमध्य सबैभन्दा बढी चालक अनुमतिपत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुर वापत ९६ करोड ६ लाख ९६ हजार ४५०, यातायात क्षेत्रको आम्दानी वापत २७ करोड ५५ लाख १६ हजार १३० तथा व्यवसाय रजिष्ट्रशन दस्तुर वापत १५ करोड ४३ लाख ३३ हजार ४६० राजश्व संकलन गरेको छ ।
६४ अर्ब ५४ करोड कुल आम्दानीको लक्ष्य
चालुवर्ष प्रदेश सरकारले ६४ अर्ब ५४ करोड, ४ लाख ३१ हजार कुल आम्दानीको लक्ष्य लिएको छ । जसमध्य बेरुजु तथा गत वर्षको नगद मौज्दात वापत मात्रै १४ अर्ब ८६ करोड ७४ लाख ५१ हजार १८० रुपैयाँ संकलन गर्ने लक्ष्ये छ । तर हालसम्म लक्ष्यको ० दशमलव ६२ प्रतिशत अर्थात ९ करोड १४ लाख ८१ हजार १३० रुपैयाँ मात्रै संकलन भएको छ ।