images
images

दोलखाली सर्जकले रचना गरेको ‘के लत बस्यो मलाई’ गजल चर्चाको शिखरमा

  • ५ माघ २०७९, बिहीबार १०:०४

जिरी (दोलखा) । दोलखाका सर्जकले रचना गरेको ‘के लत बस्यो मलाई’ गजल यतिखेर निकै चर्चामा छ ।

दोलखाको कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावती घर भएका सर्जक डा.प्रदिप कुमार मैनालीले रचना गरेको गजलले चर्चाको शिखर चुमेको हो । ६ दिन अघि सार्वजनिक भएको मैनालीको रचना र तिलक सिंह पेलाको स्वर तथा संगीतमा रहेको गजल ‘के लत बस्यो मलाई’ यतिबेला नेपाली संगीत प्रेमी माझ चर्चामा आएको छ । सरस शब्दावली र सोही अनुसारको शुमधुर स्वरसहितको गजलले हजारौंको मन छोएको छ । यो गजल ६ दिनअघि मात्र युट्युबमा रिलिज भएको थियोे ।

सर्जक मैनालीले रचना गरेर एक वर्षसम्म आफ्नो डायरिमा थन्काएर राखेको ‘के लत बस्यो मलाई’ गजल एकाएक रेकर्ड भएर बजारमा आएपछि यतिखेर युट्युव, टिकटक र फेसबुक लगायतका समाजिक सञ्जालमा भाइरल भइरहेकोे छ । यसअघि सो गजललाई संगीत र स्वर दिन नाम चलेका संगीतकार र गायककारले इन्कार गरेका थिए । तर, यो गजल गीत बनेर रिलिज भएपछि अहिले टाइमलाइनमा अर्गानिक र आत्मपरक भन्दै संगीतकर्मीहरुलेनै खुलेर प्रशंसा गरिरहेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले यो गीतले मौलिकता र सिर्जना अझै कायम छ भन्ने सन्देश दिन खोजेको बताइरहेका छन् । रेकर्डिङदेखि भिडियो निर्माणसम्म ५० हजार रुपैयाँ खर्चमा बनेको गजलमा स्वर दिएका गायक पेलेको पनि निकै चर्चा छ । काठमाडौंको सानो भ¥याङस्थित श्रीकृष्ण गुरुकुल संगीत पाठशालामा संगीतका शिक्षक समेत रहेका गायक तिलक सिंह पेलाको स्वरले प्रशंसा कमाइरहेको छ । स्वर र शब्दले मेल खाएपछि यो गजल निकै चर्चामा आएको हो ।

गीतका एरेन्जर तथा रेकर्डिस्ट रिदम कँडेलले बनाउने बेला धेरै हिट होला जस्तो नलागेपनि यो गीतको लोकप्रियता अहिले अनपेक्षित रहेको बताएका छन् । सम्बन्धका हिसाबले गायक पेला र एरेन्जर कँडेल गुरुचेला हुन् । गीतमा मिठास आउनुमा एरेन्जरको पनि महत्वपूर्ण भूमिका हुन्छ । जुन यो गीतामा लोकप्रियता आउनुमा सर्जक, त्यसमा स्वर दिने गायक र एरेन्जरको पनि उत्तिकै भूमिका रहेको देखिन्छ । यो गजल सुनेपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले सामाजिक सञ्जालमा ‘खाँटी सृजना, स्वर र साधक कहिल्यै ओझेलमा नपर्ने तर, कर्कस चिच्याहटहरु कुनै कालखण्डमा हाबी भएको देखिएको धारणा राखेका छन् ।

डा.प्रदिप कुमार मैनालीले यो गजल लेखेको केही वर्ष भइसकेको थियो । उनले डायरीमा पनि थुप्रै सिर्जना लेखेका छन् । तर, लेखेका सबै सिर्जनाले मन नछोएपनि यो सिर्जनाले उनको मन छोएको थियो । त्यसपछि यो सिर्जनालाई डायरीमा मात्रै सिमित राख्नु हुँदैन भन्ने सोचाईको साथ उनी सो गजलसँग स्वर मिल्ने गायक र रेकर्डिङको खोजिमा लागिपरेका थिए । सोही क्रममा एक दिन एउटा गजल तिलक पेलाको आवाजमा सुनेपछि उनले ती गायकको खोजी गरेर आफ्नो गजल तिलकको स्वरमा रेकर्ड गराएका थिए । तिलकले गीत गाउँदै गरेको भिडियो खिचेर युट्युबबाट गजल रिलिज भयो । रिलिज भएको छोटो समयमै सामाजिक सञ्जालका हरेक प्लाटफर्ममा गजल लोकप्रिय हुँदै गएको छ ।