दोलखा । दोलखाको लामावगरमा नासा हाइड्रोले निर्माण गरिरहेको लप्चि जलविद्युत आयोजनाको सडक निर्माणको क्रममा मृत्यु भएका युवकको शव आफन्तजनले बुझेका छन् ।
नासा हाइड्रो र सडक निर्माणको जिम्मा पाएको कम्पनीले मृत्तकको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र घाइतेलाई निःशुल्क उपचार गर्ने भएपछि आफन्तजनले घटना भएको ५ दिनपछि शव बुझेका हुन् । नासा हाइड्रोले क्षतिपूर्ति दिने र घाइतेलाई उपचार गराउने भएपछि सहमति भएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक खड्काले जानकारी दिनुभयो । नासा हाइड्रो, सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी र मृत्तक तथा घाइतेबीच लामावगरमा भएको छलफलमा सहमति जुटेको हो । पीडित परिवारलाई १० लाख रुपैयाँ दिने प्रहरीले बताए पनि मृत्तकका परिवारजनले भने २० लाख क्षतिपूर्ति पाउने सहमति भएको बताएका छन् ।
निर्माणाधीन लामावगर–लप्चि सडकको हुरहुरेमा भीर फुटाउन बिष्फोट गराउने क्रममा सोमवार बिगु गाउँपालिका–१ का १९ वर्षीय कामदार कुसुङ तमाङको घटनास्थलमै मृत्यु भएको थियो भने सोही स्थानका २२ वर्षीय रसमान तामाङ र २८ वर्षीय दिलकुमार तामाङ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएकाहरुको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । सो घटना बिष्फोट गराउँदा घटेको पुष्टि भएको थियो ।
हुरहुरेको भीर फुटाउन बिष्फोट गरिएको र प्वाल खोपेर बिष्फोटक पदार्थ भरिएको केप बिष्फोट भए नभएको यकिन नगरी अर्को प्वाल खोप्न मजदुरलाई पठाउँदा यस्तो दुर्घटना भएको थियो । मृत्तकका परिवार, आफन्तजन र स्थानीयले लप्चि जलविद्युत आयोजनाको कार्यालय परिसरमा घेराउ र तोडफोड समेत गरेका थिए । मृतकको शवलाई मंगलवार हेलिकोप्टर मार्फत सदरमुकाम चरिकोट ल्याएर शव गृहमा राखिएको थियो । परिवारका सदस्य नआएका कारण शव ५ दिनदेखि शव गृहमै थन्किएर बसेको थियो । तर आज हाइड्रो र मृत्तक, घाइतेका परिवारबीच सहमति भएपछि तामाङको शव आफन्तले बुझेका हुन् । सो सहमति भएसँगै आफन्तजन र स्थानीयले आन्दोलन स्थगित गरेका छन् ।