images
images

जिरीलाई यातायात सेवाले जोड्यो काँकडभिट्टासम्म

  • ५ माघ २०८०, शुक्रबार २०:५६

जिरी (दोलखा) । दोलखाको पर्यटकीय नगरी जिरीबाट इलामसम्म सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ ।
आजदेखि जिरी–बेताली– खिम्ती– मन्थली– सिन्धुली– बर्दिबास–इटहरी हुँदै काँकडभिट्टाको पशुपति नगर सम्म सार्वजनिक यातयात सेवा सञ्चालनमा आएको हो । जिरीबाट यो यातायात सेवा नियमित सञ्चालनमा ल्याउने तयारी छ । सो रुटमा पूर्व अरनिको, मेचि, सुनौलो विपी, रोल्वालिङ यातायातले नियमित बस सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए । जसअनुसार आज पहिलो दिन रोल्वालिङ यातायातको बस विहान साँढे ११ बजे काँकडभिट्टाबाट जिरी आइपुगेको थियो । जिरी आइपुगेको बस र यात्रुहरुलाई जिरीमा नेपाली काँग्रेस जिरी नगर समितिका सभापति सोनाम शेर्पा र उद्योग वाणिज्य संघ जिरीका अध्यक्ष बाबुराजा श्रेष्ठ लगायतले स्वागत गर्नुभएको थियो । यसअघि माघ ३ गते अर्थात बुधबारदेखि बस सञ्चालनमा ल्याउने निर्णय भएपनि दुई दिन ढिलागरी सञ्चालनमा आएको हो ।

केही समयअघि जिरी नगरपालिकाको पहलमा राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला, यातयात व्यवसायि लगायतको सहभागीतामा जिरी नगरपालिकामा बसेको बैठकले बुधबारदेखि जिरी–बेताली–खिम्ती–काकडभित्ता हुँदै इलामको पशुपतिनगरसम्म र जिरीदेखि बागमती प्रदेशको राजधानी हेटौंडासम्म नियमित सार्वजनिक बस सञ्चालनमा ल्याउने निर्णय भएको थियो ।