images
images

दोलखामा माओवादी केन्द्रको अभियानः ‘जनताको साथी, घर–घरमा माओवादी’

  • ७ फाल्गुन २०७८, शनिबार १६:५१

दोलखा । नेकपा माओवादी केन्द्र दोलखाले जिल्लाभर दुई साता लामो संगठन सुदृढिकरण अभियान संचालन गर्ने भएको छ ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकिसकेको अवस्थामा माओवादी केन्द्रले जिल्लाका गाउँ, टोल र बस्तिसम्म पुग्नेगरी संगठन सुदृढिकरण अभियान चलाउने भएको हो । नेकपा माओवादी केन्द्र दोलखाको आज बसेको बैठकले यहि फागुन ९ गतेदेखि फागुन २४ गतेसम्म एकैसाथ जिल्लाभर अभियान चलाउने नर्णय सहित कार्यतालिका तय गरेको जिल्ला संयोजक कुलवहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानमा माओवादी केन्द्रको जिल्ला समन्वय समिति, पालिका र वडास्तरको कमिटीका सवै पदाधिकारी र कार्य समिति सदस्यहरु तथा जनवर्गीय संगठनका नेता कार्यकर्ता परिचालित हुने छन् ।

माओवादी केन्द्र दोलखाले संचालन गर्न लागेको संगठन सुदृढिकरण अभियानका लागि ‘जनताको साथी, घर–घरमा माओवादी’ भन्ने नारा तय गरेको छ । सो अभियान अन्तर्गत वडा र टोलसम्म पार्टीका कमिटी र जवस मोर्चाहरुको गठन, पुर्नगठन गर्नुका साथै जनतासँग भेटघाट, छलफल, अन्तरक्रिया, सहिद परिवार सम्मान लगायतका गतिविधिहरु संचालन हुने नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवँ दोलखा जिल्ला इन्चार्ज देवी खड्काले जानकारी दिनुभयो । अभियानका क्रममा जिल्लाका ९ वटा स्थानीय तहका ७४ वटा वडामा ६ सय ६६ वटा टोल कमिटी तथा वडा तहसम्म युवा, बिद्यार्थी, महिला, किसान लगायतका जनवर्गीय संगठनका कमिटीहरु पनि बन्ने छन् । अभियान अन्तर्गत माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको ९ वटै स्थानीय तहमा कमिटी गठन हुनेछ । सो कमिटीमा प्रत्येक वडावाट एक/एक जना प्रेस सेन्टरका सदस्यहरुको प्रतिनिधित्व हुनेछ ।

स्थानीय तहको निर्वाचनको मिति तय भईसकेका कारण माओवादी केन्द्रले जिल्लाका ९ वटै पालिका र ७४ वडामा आफ्नो पार्टी र अन्य पार्टीको अवस्थाका बारेमा शुक्ष्म सर्वेक्षण समेत गर्ने माओवादी केन्द्रले जनाएको छ ।