दोलखा । प्रधानमन्त्री शेरबहादुर देउवाले उर्जा संकट समाधान गर्नका लागि माथिल्लो तामाकोशी जलविद्युत् आयोजना महत्वपुर्ण आयोजनाको रुपमा रहेको बताउनुभएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अन्तर्गत निर्माण सम्पन्न भएको २२०÷१३२ केभी नयाँ खिम्ती सबस्टेशनको समुद्धघाटन तथा प्रशंसापत्र वितरण समारोहलाई आज दोलखाको गोगंरमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । माथिल्लो तामाकोशी आयोजनाको विद्युत गृहको अनुगमनपछि आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय गौरवको रुपमा रहेको आयोजनाले उर्जा संकट समाधान गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले बहुउदेश्यीय प्रकृतिका ठुला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउन सरकार लागि पर्ने बताउनुभएको छ । सुक्खायाममा जलाशययुक्त आयोजनाको भूमिका महत्वपुर्ण रहने र आर्थिक रुपमा पनि देशलाई फाइदा पुग्ने भन्दै प्रधानमन्त्री देउवाले स्वच्छ र हरित ऊर्जाका लागि पनि ठुला र जलाशयुक्त आयोजना जरुरी रहेको र त्यसका लागि सरकारले गृहकार्य गरिरहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणमा भुमिका खेल्ने, सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले आयोजना निर्माणको क्रममा सहयोग गर्ने विभिन्न संघ संस्था, व्यक्तिलाई सम्मान स्वरुप प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
खिम्ति सब स्टेशनको उद्धघाटन पछि आयोजना स्थल पुग्नुभएका प्रधानमन्त्रीले सुरुमा विद्युत् गृहको अनुगमन गर्नुभएको थियो । त्यसपछि औपचारिक कार्यक्रममा सहभागी भएर उहाँले प्रशंसापत्र वितरण गर्नुभएको होे । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उर्जामन्त्री पम्फा भुसाल, बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्का, उर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, सांसद जीपछिरिङ लामा तथा पार्वत गुरुङ, पुर्वराज्यमन्त्री देवी खड्का लगायतको सहभागीता थियो । प्रधानमन्त्री देउवा आजै संघीय राजधानी काठमाडौं फर्किनुभएको छ ।