नेपाली कांग्रेसको विशेष महाधिवेशनवाट निर्वाचित भएको दुई महिनापछि पार्टी सभापति गगन थापाले पदवाट राजनीमा दिएका छन् ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा आफुसहित पार्टीले नराम्रो पराजय व्यहोरेपछि उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि सभापति गगनले राजीनामा पत्र बुझाए पनि यस बारे कांग्रेसले आधिकारिकरूपमा कुनै जानकारी दिएको छैन । उनको राजीनामाबारे शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ ।
बिद्रोह शैलीमा गरेका थिए विशेष महाधिवेशन
गत पुस अन्तिम साता गगन र विश्वले पार्टीभित्र बिद्रोहको शैलीमा विशेष महाधिवेशन गरेर नयाँ केन्द्रीय कार्यसमिति चयन गरेका थिए ।
तत्कालीन सभापति शेरवहादुर देउवा र उनको समूहको असहमतिका बीच तत्कालीन महामन्त्रीको हैसियतमा रहेका उनीहरुले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन बोलाएका थिए ।
विशेष महाधिवेशनको वैधानिकतालाई लिएर तत्कालीन सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा विचाराधीन रहेका बेला गगनको राजीनामा आएको हो ।
आफैले टिकट बाँडे तर नतिजा कमजोर
विशेष महाधिवेशन लगत्तै निर्वाचनमा होमिएका कांग्रेसका उम्मेदवारहरुलाई सभापति गगनको हस्ताक्षरमा टिकट दिइएको थियो । निर्वाचनमा गगन सर्लाही–४ मा रास्वपाका अमरेश सिंहसँग पराजित बनेका थिए ।
प्रतिनिधिसभा निर्वाचनमा थापा मात्रै पराजित भएनन् धेरै शीर्ष नेताले चुनाव जित्न सकेनन् ।
चुनावमा रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट मात्रै जित्न सक्यो । निर्वाचनमा नराम्रो हार र कमजोर प्रतिपक्ष बनेपछि देउवा पक्षका नेताले गगनको आलोचना गर्दै आएका छन् ।
राजीनामा बारे मिडिया ट्रायल
निर्वाचनपछि मौन बसेका गगनले केही दिनअघि उपसभापति विश्वलाई भेटेर पदवाट राजीनामा दिने बताएका थिए । उक्त समाचार सार्वजनिक भएपछि मिडिया ट्रायलको आरोप लागेको थियो ।
कांग्रेसको विधानमा सभापतिले उपसभापति समक्ष राजीनामा बुझाउने र उपसभापतिले केन्द्रीय कार्यालयमा दर्ता गर्ने भन्ने छ । यसरी आएको राजीनामा केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्नु पर्नेछ ।
केन्द्रीय समितिले गर्न सक्छ अस्वीकृत
बैठक अगावै गगनको राजीनामा पत्र केन्द्रीय कार्यालयमा दर्ता भयो भने छलफलकालागि प्रस्ताव पेस हुनेछ । तर, केन्द्रीय समितिले राजीनामा स्वीकृत वा अस्वीकृत गर्न सक्छ ।
स्रोतका अनुसार गगनको भित्री इच्छा राजीनामा दिएर जिम्मेवारीबाट पन्छिने छैन । निर्वाचनमा भएको पराजयपछि आलोचनालाई मत्थर पार्न नैतिकताको विषयमा सहानुभूति जुटाउन उपसभापतिलाई राजीनामा पेश गरिएको हो ।
बिद्रोहको शैलीमा विशेष महाधिवेशनवाट चयन भएको नेतृत्व गगन–विश्वको अनुकूल छ । केन्द्रीय समितिको बैठकले सभापति गगन थापाको नेतृत्व आवश्यक रहेको ठहरसहित राजमा अस्विकृत गर्ने सम्भावना बढी छ ।



लक्ष्मण खड्का 






