भक्तपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजनबारे स्पष्टिकरण दिएको छ ।
निगमले नेपालमा आफ्नै रिफाइनरी नहुँदा कच्चा तेल आयात नगरी सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता रहेको र क्रूड आयल भन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुने बताएको छ ।
क्रूड आयल (कच्चा तेल) को मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगो रहेको भन्ने विश्लेषण सही नभएको निगमका प्रवक्ता मनोज ठाकुरले बताएका छन् ।
मूल्य फरक–फरक
भन्सार, कर, ढुवानी, बिमा, भण्डारण र सेवा शुल्कजस्ता पक्षहरूले पनि अन्तिम खुद्रा मूल्य निर्धारणमा प्रभाव पार्ने हुँदा इन्धनको मूल्य फरक–फरक हुने निगमले जनाएको छ ।
नेपालले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । भारतले पठाउने मूल्य प्रशोधित पेट्रोल र डिजेलको १५ दिनको औसत अन्तर्राष्ट्रिय मूल्यका आधारमा तय हुने भएकाले नेपालमा मूल्य समायोजन पनि सोही आधारमा हुने गरेको ठाकुर बताउँछन् ।
मूल्यवृद्धिको दबाब
सामान्य अवस्थामा क्रूड आयल र पेट्रोलबिच करिब १० डलर तथा क्रूड आयल र डिजेलबिच करिब २० डलरको अन्तर रहने भए पनि पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिमा यो अन्तर क्रमशः करिब १४४ डलर र २१६ डलरसम्म पुगेको निगमले जनाएको छ । यसले प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप बढाएको छ ।










