images
images

कांग्रेसका शेखर-शशांक पक्षको निर्णय– देउवा पक्षको छलफलमा नजाने, गगनको नेतृत्व स्विकार गर्ने

  • ६ बैशाख २०८३, आईतवार १२:५८

भक्तपुर । नेपाली कांग्रेसका नेता शेखर कोइराला र शशांक कोइरालानिकट नेताहरूले सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा उभिने निष्कर्ष निकालेको छ।

निवर्तमान उपसभापति धनराज गुरूङले शेखर र शशांक कोइराला पक्षबीच आईतबार छलफल भएको र अदालतको फैसला स्वीकार गर्दै पार्टीको बृहत्तर एकताका पक्षमा लाग्ने निष्कर्ष निकालिएको जानकारी दिए।

शेखरको सम्पर्क कार्यालय विशालनगरमा आईतबार छलफल भएको थियो। छलफलले गगन थापा नेतृत्वलाई स्वीकार गरेर अघि बढ्ने पनि निष्कर्ष निकालेको छ।

शेखर भने विराटनगर रहेका कारण सहभागी थिएनन्। छलफलमा निवर्तमान उपसभापति गुरूङ, पूर्वमहामन्त्री शशांक कोइराला, निवर्तमान सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डे, नेताहरू मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाईं, चन्द्रमोहन यादव, सीता थपलिया लगायत सहभागी थिए।

गत पुसमा विशेष महाधिवेशनबाट गगन थापा सभापति भएका थिए। विशेष महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा र शेखर तथा शशांक कोइराला पक्ष सहभागी भएको थिएन। सर्वोच्चले विशेष महाधिवेशनलाई मान्यता दिएको छ।

नेता शेखर कोइराला र शशांक कोइराला निकट नेताहरूले निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्षले आज धुम्बाराहीमा राखेको छलफलमा सहभागी नहुने बताएका छन् । शनिवार खड्का निवासमा भएको छलफलमा पनि कोइराला पक्ष सहभागी भएको थिएन।