images
images

५७ नेपाली चलचित्रमा यी हुन् गत वर्ष सर्वाधिक कमाउने १० फिल्म

भक्तपुर । २०८२ सालमा ५७ वटा नेपाली चलचित्र प्रदर्शनमा आए । तर, सबै सोचेजति सफल हुन सकेनन् ।

केही चलचित्रले भने सर्वाधिक कमाई गर्दै नयाँ रेकर्ड बनाएका छन् । त्यसमध्य पहिलो नम्वरमा परेको छ ‘परान’ । ‘परान’ १७ करोड ७६ लाख ८४ हजार ४१० कमाई गर्दै घरेलुबजारमा सर्वाधिक कमाई गर्ने स्वदेशी चलचित्र बनेको हो ।

१४ कात्तिकदेखि प्रदर्शनमा आएको फिल्म परानमा जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको संवेदनालाई देखाईएको थियो । बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकांक्षालाई रोज्दा उत्पन्न हुने परिस्थितिलाई कथा बनाइएको सो फिल्मको शीर्ष भूमिकामा अभिनेता नीर शाहले अभिनय गरेका छन् भने छोराको भूमिकामा महेश त्रिपाठी र बुहारीको रोलमा अञ्जना बराइलीले अभिनय गरेका छन् ।

दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्रले विशेषतः परिवारलाई नै दर्शक बनाएर चलचित्र भवनसम्म ल्याउन सफल भएको थियो ।

‘आ बाट आमा’ दोस्रो स्थानमा

सर्वाधिक कमाई गर्ने सूचीको दोस्रो स्थानमा चलचित्र ‘आ बाट आमा’ रहेको छ । आमा र छोरा बीचको कथा देखाइएको उक्त चलचित्रले १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ कमाई गरेको हो । चलचित्र ‘जेरी अन टप’ सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीको तेस्रो स्थानमा रहेको छ । उक्त चलचित्रले रु १२ करोड २८ लाख ८४ हजार कमाई गर्न सफल भएको छ ।

प्रेम कथानक चलचित्र ‘ऊनको स्वीटर’ २०८२ मा सर्वाधिक कमाई गर्ने चलचित्रको चौथो स्थानमा रहेको छ । उक्त चलचित्रले घरेलुबजारमा ११ करोड ४१ लाख ९२ हजार १९५ कमाई गरेको छ ।

कुन फिल्मले कति कमाए ?

यस्तै, पाँचौँ स्थानमा रहेको चलचित्र ‘जारी २’ ले ६ करोड २४ लाख १७ हजार ४५३ रुपैयाँ कमाई गर्दा सर्वाधिक कमाई गर्ने चलचित्रको छैटौँ स्थानमा रहेको ‘बलिदान’ ले पाँच करोड १० लाख ५१ हजार १७२, सातौँ स्थानमा रहेको चलचित्र ‘मोहर’ ले पाँच करोड आठ लाख ९५ हजार ५१२ रुपैयाँ कमाई गरेको छ ।

आठौँ स्थानमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले चार करोड ७१ लाख ३८ हजार ६८७ रुपैयाँ कमाई गर्दा कलाकार केदार घिमिरे अभिनित ‘माग्ने राजा’ चार करोड ६९ लाख ४३ हजार ६५१ रुपैयाँ कमाई गर्दै नवौँ स्थानमा रहेको छ ।

दसौँ स्थानमा रहेको चलचित्र ‘माइतीघर’ ले चार करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ कमाई गरेको छ। समग्रमा चलचित्रका लागि यो वर्ष सुखद नै रहेको फिल्मकर्मीहरुको भनाई छ ।

सुनिलको अन्तिम सत्य, ‘राम नाम सत्य’

अघिल्लो वर्ष ५७ वटा नेपाली र ९३ विदेशी चलचित्र प्रदर्शनमा आएका थिए। वर्षको अन्त्यतिर रिलिज नेपाली फिल्म ‘राम नाम सत्य’ को व्यापार विवरण भने आगामी सोमबारमात्रै सार्वजनिक हुने चलचित्र विकास बोर्डले जनाएको छ।

‘राम नाम सत्य’ यो त्यही फिल्म हो, जसको चिताको सिन अधुरै राखेर वरिष्ठ कलाकार सुनिल थापा सँधैका लागि अस्ताएका थिए । सो फिल्मको अन्तिम सिनमा सुनिलको पात्र चितामा जल्नुपर्नेमा उनी फिल्मी क्षेत्रलाई सँधैका लागि विदाई गर्दै रियलको चितामा जलेका थिए ।