जिरी (दोलखा) । दोलखाको ३ पालिकाको अन्तिम मतपरिणाम आउँन बाँकी छ ।
जिल्लाको भीमेश्वर नगरपालिका, शैलुङ गाउँपालिका र विगु गाउँपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको हो । भीमेश्वगर नगरपालिकामा अहिले वडा नम्बर ७ मा मत गणना भइरहेको छ । वडा नम्बर ६ सम्मको मतगणना सकिँदा कांग्रेस नगरप्रमुखमा उम्मेदवारले अग्रता कायमै राखेका छन् । उनले ५ हजार ४ सय ५३ मत पाउँदा एमालेका हरिवंश चौलागाईले ४ हजार ७ सय २२ मत पाएका छन् ।
उपमेयर पदमा भने एमालेकी उम्मेदवार कमला बस्नेत अघि देखिएकी छन् । उनले वडा नम्बर ६ सम्म ४ हजार ८ सय ९ मत पाउँदा एकीकृत समाजवादीकी उम्मेदवार संगिता तामाङले ४ हजार २ सय ३६ मत पाएका छन् । यस्तै, भीमेश्वर वडा ७ मा कुल खसेको २ हजार १ सय ३६ मत मध्ये एक हजार ६ सय मत गणना हुँदा सो वडामा कांग्रेस मेयर पदका उम्मेदवार मानन्धरले अग्रता कायम राखेका छन् भने उपमेयरमा एमालेका उम्मेदवार अघि देखिएका छन् । जसमा वडा नम्बर ७ बाट मानन्धरले हालसम्म ७ सय ७६ मत पाउँदा एमालेका उम्मेदवार चौलागाईले ६५० मत पाएका छन् । उपमेयरमा नेकपा एकीकृत समाजवादीकी संगिता तामाङले ५ सय २० मत ल्याउँदा एमालेकी कमला बस्नेतले वडा नम्बर ७ बाट हालसम्म ६ सय ४४ मत प्राप्त गरिसकेकी छिन् । भीमेश्वर ७ मा वडामा कांग्रेसका वडाध्यक्षले अग्रता लिएका छन् । अब वडा नम्बर ८ र ९ कोे मत गणना सम्पन्न भएपछि भीमेश्वरको सम्पूर्ण नजिता सार्वजनिक हुनेछ ।
शैलुङ अन्तिम चरणमा
शैलुङ गाउँपालिकामा अन्तिम चरणमा मतगणना भइरहेको छ । अहिले वडा नम्बर ७ सम्म मतगणना सम्पन्न भई वडा ८ को गणना भइरहेको छ । वडा नम्बर ७ को मतगणना भइसक्दा एमालेका उम्मेदवार धनबहादुर तामाङले अग्रता लिएका छन् । यस्तै, उपाध्यक्षमा पनि एमालेका उम्मेदवार अघि देखिएका छन् । एमालेका उम्मेदवार पार्वती कार्कीले चार हजार २ सय २० मत प्राप्त गर्दा कांग्रेसका दावा दोर्जे लामाले ३ हजार ७ सय ५५ मत पाएका छन् । तर, वडा नम्बर ८ मा भने गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । वडा नम्बर ८ मा हालसम्म १ हजार २ सय मतगणना हुँदा पालिका अध्यक्षका उम्मेदवार गठबन्धनका श्रेष्ठले ५ सय १७ र एमालेका तामाङले ४ सय २३ मत पाएका छन् । उपप्रमुखमा गठबन्धनले ५ सय ४५ मत पाउँदा एमालेले ४ सय ९४ मत पाएका छन् ।
विगुमा ३ वटा वडाको मतगणना बाँकी
यसैगरी विगु गाउँपालिकामा पनि मतगणना जारी छ । अहिले विगु ५ चिलंखाको मतगणना भइरहेको छ । अझै वडा नम्बर ६, ७ र ८ को गणना बाँकी छ । वडा नम्बर १ देखि ४ सम्मको मत गणना सकिँदा विगुमा गठबन्धनको अग्रता कायमै रहेको देखिन्छ । माओवादीका पालिका अध्यक्षका उम्मेदवार संञ्जिव ओलीले २ हजार २ सय ७१ मत ल्याउँदा एमालेका अच्युतम केसीलेल २ हजार ८७ मत ल्याएका छन् ।
हिजो बेलुकीसम्म जिल्लाको ६ वटा पालिकाको वडादेखि पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षसम्मको मत परिणाम सार्वजनिक भएको छ ।