
काठमाडौं । सत्तारुढ गठबन्धन र नेपाली कांग्रेसबीच संसदीय छानविन समिति गठन गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको बैठकमा यस्तो सहमति भएको हो । सो सहमति भएसँगै आजदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक नियमित चल्ने भएको छ । बैठकमा संसदीय समितिको कार्याक्षेबारे सहमति हुन भने बाँकी रहेको छ । संसदीय समितिको कार्यदेशबारे आजसम्म सहमति हुने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको कार्याक्षेत्र बनाउन कांग्रेस, एमाले र रास्वपाका प्रतिनिधि रहेको एक समिति बनाइएको छ ।
यो समितिलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजक गर्नुहुनेछ । सो समितिको बैठक आज बिहान ८ बजे बस्ने भएको छ । संसदीय समितिको टिओआर बनाउने विषयलाई कानुनमन्त्री पदम गिरीसहित कांग्रेस, एमाले, रास्वपा र नेकपा माओवादी केन्द्रका प्रतिनिधि आज बिहान बसेर टुंग्याउने भएका छन् । कानुनमन्त्रीको नेतृत्वमा बनेको टिओआर तय गर्न समितिमा कांग्रेसबाट जीवन परियार, एमालेबाट महेश बर्तौला, रास्वपाबाट शिशिर खनाल रहेका छन् ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर छानविन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो । सहकारीबारे संसदीय छानविन समिति बनाउनेमा सबै दलको सहमति रहेको छ । गत वैशाख २८ गते संघीय संसदको हिउँदे अधिवेसन सुरु भएदेखि कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन लगातार अवरोध गर्दै आएको छ ।