images
images

प्रहरी जवान हत्या प्रकरणः नाबालक सहित ७ जना संलग्न रहेको खुलासा

  • ६ जेष्ठ २०८१, आईतवार १३:१४

काठमाडौँ । नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् । ट्राफिक प्रहरी विभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव काठमाडौँको तार्केश्वर ९ मनमैजुस्थित निर्माणाधिन घरको भुँईमा रक्ताम्य अवस्थामा मृत फेला परेका थिए ।

पक्राउ परेकाहरुले सो घरलाई लागुऔषध अखडा बनाएको र उनीहरु सबै लागुऔषध प्रयोगकर्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले २१ जना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिई सोधपुछ गरेकोमा संलग्नता देखिएका ७ जनालाई सार्वजानिक गरेको हो । उनीहरुलाई अस्टनारायण हल पछाडी, २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गर्ने क्रममा प्रहरीले १ राउण्ड हवाई फायर समेत गरेको थियो । प्रहरी जवान घिमिरे यसअघि बसपार्क क्षेत्रमा कार्यरत रहँदा हाल पक्राउ परेका परियारसँग चिनजान भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।