जिरी (दोलखा) । संघीय संसद् सचिवालय बानेश्वरस्थित सुरक्षार्थ खटिएका दोलखाको मेलुङ घर भएका एक जना सुरक्षाकर्मीले आत्महत्या गरेका छन् ।
मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेका हुन् । उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो । गोलेले आज बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए । बिहान ड्यूटीमा बसेका अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका थिए। उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए । उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत थिए।
प्रारम्भिक अनुसन्धानमा उनी पारिवारिक समस्यामा रहेको पाइएको प्रहरीको भनाई छ । यद्धपी, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।