images
images

स्थानीय तहमा सञ्चालन हुने ३९६ आधारभूत अस्पतालका लागि दरबन्दी तोकियो

  • ३ श्रावण २०७९, मंगलवार १९:३२

सरकारले देशभरका ३ सय ९६ वटा आधारभूत अस्पतालका लागि डाक्टर, नर्ससहित कर्मचारीको दरबन्दी तोकेकोे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहले सञ्चालन गर्ने आधारभूत अस्पतालको संगठनात्मक संरचना र दरवन्दीको तेरिज तयार पारेको हो । मन्त्रालयले असार २१ गते गरेको मन्त्रीस्तरीय निर्णय अनुसारको संरचना तयार गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई पत्राचार गरेको छ । स्वास्थ्य मन्त्रालयले असार २७ गते पठाएको पत्रका आधारमा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई पत्राचार गरेको हो ।

स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको नमुना संगठनात्मक संरचना र दरवन्दी तेरिज स्थानीय तहलाई जानकारी गराइदिन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको थियो । स्वास्थ्य मन्त्रालयको अनुसार स्थानीय तहमा सञ्चालन हुने ५, १० र १५ शैयाका अस्पतालको आर्थिक दायित्व सम्बन्धित स्थानीय तहबाटै व्यवस्था गर्नुपर्नेछ । मन्त्रालयको निर्णय अनुसार आधारभूत अस्पतालहरु सञ्चालन भएका स्थानीय तहका सम्बन्धित वडामा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रहरु सोही अस्पतालमा समाहित गर्नुपर्नेछ ।

५ शैयाको अस्पतालमा आठौँ तहको मेडिकल अधिकृतको नेतृत्वमा १८ जना कर्मचारीको दरबन्दी रहने प्रस्ताव गरिएको छ । एक मेडिकल अधिकृतसँगै ४ जना स्टाफ नर्स र ३ जना हेल्थ असिस्टेन्सको दरबन्दी राखिएको छ । १० शैयाकोमा पनि ८ औँ तहका मेडिकल अधिकृतको नेतृत्वमा २२ जना कर्मचारी रहने गरी दरवन्दी प्रस्ताव गरिएको छ । १० शैयाको अस्पतालमा मेडिकल अधिकृतको २ दरबन्दी राखिएको छ । ५ स्टाफ नर्स र ३ जना हेल्थ असिस्टेन्स राख्न प्रस्ताव गरिएको छ । १५ शैयाको अस्पतालमा भने ९ औँ वा १० औँ तहको मेडिकल जनरलिस्टले नेतृत्व गर्ने गरी दरवन्दी प्रस्ताव गरिएको छ । यसपछि २ मेडिकल अधिकृत, ६ स्टाफ नर्स र ४ हेल्थ असिस्टेन्स रहने गरी दरबन्दी प्रस्ताव गरिएको छ ।

दोलखाको ७ अस्पतालका लागि कर्मचारीको दरबन्दी

यसैबीच, दोलखाको ६ स्थानीय तहमा सञ्चालन हुने ७ आधारभूत अस्पतालका लागि पनि डाक्टर र नर्ससहितको कर्मचारीको दरबन्दी तोकिएको छ । मन्त्रालयका अनुसार भिमेश्वर नगरपालिकामा १५ शैयाको लागि दरबन्दी तोकिएको छ । यसैगरी, गौरीशंकर गाउँपालिकामा १५ र ५ शैया, तामाकोशी गाउँपालिकामा १० शैया, बैतेश्वर गाउँपालिकामा १५ शैया, मेलुङ गाउँपालिकामा र शैलुङ गाउँपालिकामा ५/५ शैयाका लागि दरबन्दी तोकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालययले जनाएको छ ।