images
images

चरित्र हत्या गर्न खोजिएको जिरी नगरपालिका–७ का वडाध्यक्षको भनाई

  • ४ श्रावण २०८१, शुक्रबार १०:५५

जिरी (दोलखा) । जिरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शान्त नेपालीले वास्तविकता नबुझी आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।

वडाध्यक्ष नेपालीले केही अराजक तत्वहरुले सम्बन्धीत पक्षसँग वास्तविक सत्य तथ्य नबुझीकन एकतर्फी गलत मनासायका साथ वडा नम्बर ७ का सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको चरित्र हत्या गरेको बताएका हुन् । वडाध्यक्ष नेपालीले वडा नम्बर ७ र आफु स्वयमको बारेमा कपोकल्पित कार्य र समाचार आएको आरोप लगाउँदै त्यसकोपछि नलाग्न समेत आग्रह गरेका छन् ।

यद्धपी, विज्ञप्ती जारी गरेपनि उनले पाडी खरिद र किसानको पैसा लिएको विषयमा केही खुलाएका छैनन् । जिरी नगरपालिका–७ नम्बर वडा कार्यालयमा भैंसीको पाडी खरिद सम्वन्धी विवादले ताला लागेको छ भने वडा कार्यालयका दैनिक कामकाज प्रभावित बनेको छ । वडाध्यक्ष नेपालीले वडा कार्यालयमा लगाइएको ताला खोली नियमित काम कारवाही सञ्चालन गर्नको लागि सहजिकरण गरिदिन जिरी नगरपालिका र राजनीतिक दल तथा सरोकारवालाहरुमा अपिल गरेका छन् ।

जिरी नगरपालिकाले ७ नम्बर वडाका किसानकालागि अनुदानमा पाडी वितरणको कार्यक्रम ल्याएको र साझेदारीकालागि रकम उठाए पनि पाडी नपाएको भन्दै स्थानीयले हिजो वडा कार्यालयमा तालावन्दी गरेका थिए । उनीहरुले वडा अध्यक्ष शान्त नेपालीले स्थानीय ५६ जना किसानवाट जनही १० हजारका दरले ५ लाख ६० हजार रकम साझेदारीकालागि भन्दै उठाएको बताएका छन् ।

यता, वडाध्यक्ष नेपालीले प्रदेश सरकारवाट ७ नम्बर वडाकालागि कृषि तथा पशुपालन कार्यक्रम अन्र्तगत तोकिएर आएको वजेट नगरपालिकाको सहमति अनुसार पाडी खरिद तथा वितरणको तयारी भए पनि अन्तिममा आएर कार्यक्रम गर्न नसकिएको बताएका छन् । साझेदारी वापत किसानवाट उठेको रकम वडा कार्यालयसँग सुरक्षित रहेको र सो रकम फिर्ता गर्ने तयारी भइरहेको उनको भनाई छ ।