काठमाडौँ । रामेछापसहित तिन जिल्लाको सिमानामा बन्ने सुनकोशी ३ जलविद्युत आयोजनाको विषयमा नेपाल र बंगलादेशबीच छलफल हुने भएको छ ।
नेपाल र बंगलादेशबीच सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोकको सीमामा बन्ने सुनकोशी ३ जलविद्युत आयोजना अगाडी बढाउनेबारे छलफल हुने भएको हो । बंगलादेशले नेपालबाट विद्युत लैजाने निश्चित भएसँगै आयोजना निर्माणका विषयमा पनि छलफल हुन लागेको छ । बंगलादेशका उर्जा राज्यमन्त्री नेसरुल हमिद नेतृत्वको प्रतिनिधि उर्जा व्यापार सम्झौता गर्न नेपाल आउँदैछन् । साउन १४ र १५ गते पोखरामा हुने दुईदेशीय छलफलमा आयोजना निर्माणको मोडालिटि टुंगो लगाईने उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले जनाएको छ । सुनकोशी ३ को लगानी सहमतिको मस्यौदा बंगलादेश पठाईएको छ । साउन १४ गते सहसचिवस्तरीय कार्यदल र १५ गते निर्देशक समितिबीच सुनकोसी निर्माणको विषयमा छलफल हुनेछ ।
२०७९ भदौमा बंगलादेशको विद्युत, उर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव नेतृत्वको टोली र नेपालको उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले सुनकोसी ३ आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन समेत गरेको थियो । स्थलगत अवलोकनपछि बंगलादेशले नेपालसँगको सहकार्यमा सुनकोशी तेस्रो लगाएतका जलविद्युत आयोजना निर्माण अघि बढाउने ईच्छा देखाएको थियो ।
विद्युत विकास विभागले सुनकोसी ३ को सम्भाव्यता र वातावरणीय अध्ययन गरिसकेको छ । ईआईए प्रतिवेदनले आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरु प्रभावित हुने देखाएको छ । विद्युत प्राधिकरणले सुनकोशी ३ को विस्तृत अध्ययन प्रतिवेदन तयार पार्दैछ ।