दोलखा । दोलखामा मात्र मनाईने भैरवकुमारी जात्रा आजबाट सकिएको छ ।
आज विहान ४ बजे भैरवकुमारीलाई बाजागाजा सहित कुमारी घरमा भित्र्याइएपछि यो वर्षको जात्रा सकिएको हो । ऐतिहासिक, धार्मिक एवँ पुरात्तात्विक महत्वको सहर दोलखामा गाईजात्राको भोलिपल्टदेखि पाँच रात लगातार मन्दिर र स्थानीय टोलहरुमा देखाइने भैरव कुमारी जात्रा हिजो रातभर देखाईएको थियो । टँसिचा टोलस्थित कुमारी घरबाट भैरव, कुमारीकी आमा, घोडचढी र जाल हान्नेसहित १३ जनाको समुह परम्परागत आभुषण र बाजागाजा सहित आकर्षक शैलीमा नाच्दै जात्रा देखाउने गरिन्छ ।
मनले चिताएको इच्छा पुरा हुने विश्वासका साथ इच्छुक नारीहरु जात्राको समयमा व्रत पनि बस्ने गरेका छन् । पाँच सय वर्ष पुरानो भैरवकुमारी जात्रामा राजधानी काठमाडौं लगायत आसपासका जिल्लाबाट मनोकाङ्क्षा पुरा हुने विश्वासका साथ भक्तजनहरु जात्रा हेर्न दोलखा बजार आउने गर्दछन् । ऐतिहासिक सहर दोलखामा गाईजात्राको भोलीपल्टदेखि पाँच रात लगातार मन्दिर र स्थानीय टोलहरुमा देखाईने भैरवकुमारी जात्रा निकै चर्चित छ ।












