बझाङ । बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
बुंगल नगरपालिका–१० स्थित चुमेडामा एक घरमाथिबाट गएराति पहिरो जाँदा ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीया काली धामी, २५ वर्षीया गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी रहेको प्रहरीले जनाएको छ । उनीहरुको शव हाल घटनास्थलमै रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिनुभयो ।
सदरमुकाम चैनपुरमा नेपाल टेलिकमको कुनै सेवा नहुँदा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क हुन सकेको छैन । यस्तै, घरधनी ६२ वर्षीया वीरबहादुर धामी, १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्वल धामी, १० वर्षीय रोशन धामी, २० वर्षीया शान्ति धामी र पाहुना ७१ वर्षीय अम्बादत्त जोशीको सुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । पहिरोले घर पूर्णरुपमा बगाउनुका साथै ५ वटा बाख्रा पनि बगाएको छ ।