काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिम नेपालमा पनि रहेको जनाएको छ ।
मंकीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा द्रत रुपमा फैलिरहेकाले नेपालमा पनि जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । नेपालमा अघिल्लो वर्ष एक जना विदेशी ६० वर्षीया महिलामा मंकीपक्स सङ्क्रमण देखिएको थियो । मन्त्रालयले हवाई तथा सीमा नाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले सातवटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको छ । केही दिनयता अफ्रिकी मुलुक कङगोमा मंकीपक्स भाइरसका घातक प्रजाति क्लेड १ वी फैलिरहेको छ ।
मन्त्रालयका अनुसार, जनवरी यतामात्र सो भाइरसका कारण पाँच सय ४८ जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य सङठनले पनि मंकीपक्स सङ्क्रमण बढिरहेकाले विश्वव्यापी जनस्वास्थ्य आपतकालिन घोषणा गरेको छ ।