images
images

मिलिजुली कालिञ्चोक साकोसको कुल पुँजी १ अर्ब २४ करोड नाघ्यो

  • ३ आश्विन २०७९, सोमबार २०:२१

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको कुल पुँजी १ अर्ब २४ करोड नाघेको छ ।

गत असार मसान्तसम्म मिलिजुली कालिञ्चोक साकोसको कुल पुँजी १ अर्ब २४ करोड नाघेको पुगेको हो । साकोसको २९ औं वार्षिक साधारणसभा एवम् एकिकरण पछिको दोस्रो साधारणसभामा संस्थाको आयव्यय विवरण सार्वजनिक गरिएको हो । मिलिजुली कालिञ्चोक साकोसको जम्मा सम्पति (वासलात) २०७९ असार मसान्तसम्म १ अर्ब २४ करोड ७५ लाख ५९ हजार ९ सय १५ रुपैँया पुगेको छ भने शेयर पुँजी ९ करोड ४ लाख ५९ हजार ८०० पुगेको छ । साकोसका कोषाध्यक्ष मनोज कुमार श्रेष्ठले सहकारीले गत आर्थिक वर्षसम्म ११ करोड ३१ लाख ७७ हजार ४२ रुपैँया व्याज आम्दानी गरेको जानकारी दिनुभयो । गत असार मसान्तसम्म मिलिजिुली कालिञ्चोक साकोसले ६७ लाख ३९ हजार ७ सय ९३ रुपैँया खुद मुनाफा आर्जन गरेको छ भने संस्थाको बाह्य ऋण १० करोड ८९ लाख ७६ हजार ९ सय ६३ रुपैँया रहेको छ ।

मिलिजिुली कालिञ्चोक साकोसले हालसम्म १२ वटा सहकारी संस्थासँग एकिकरण गरीसकेको छ । साकोसले २०६९ सालमा राष्ट्रिय सहकारी बैंक लिमिटेडबाट मध्यमाञ्चल उत्कृष्ट, २०७१ सालमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्सकुनबाट नेपाल उत्कृष्ट, २०७६ सालमा नेफ्सकुनबाट सहकारी एकिकरण कार्यमा नेपाल उत्कृष्ट, २०७७ सालमा नेफ्स्कून बाट नेपालकै उत्कृष्ट ब्यवस्थापक, नेपाल सरकार आन्तरिक राजस्व कार्यालयबाट आर्थिक वर्ष २०७१/७२, २०७३/७४ र २०७४/७५ मा उत्कृष्ट करदाताको सम्मान पाएको थियो । मिलिजुली कालिञ्चोक साकोसमा २३ हजार ९ सय ४७ शेयर सदस्य र ९ हजार २ सय ६२ जना बालबचतकर्ता रहेका छन् । मिलिजुली कालिञ्चोक साकोसको हाल ८ वटा सेवाकेन्द्र सञ्चालनमा रहेका छन् ।