images
images

भोलीदेखि अनिश्चितकालिन बिधालय बन्द, शिक्षकहरुले सिंहदरवार घेराउ गर्ने

  • २ आश्विन २०८०, मंगलवार १७:१८

काठमाडौं । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघले भोली संघीय राजधानी काठमाडौंमा बृहत प्रदर्शन गर्ने भएको छ ।

सरकारी शिक्षण संस्थाको पठनपाठन बन्द गरेर आन्दोलनमा उत्रिएका शिक्षकहरु भोली काठमाडौंमा  विधेयकको बिरुद्ध प्रर्दशनमा उत्रिने भएका हुन् । समस्या समाधानकालागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज दिउँसो वार्तामा बोलाए पनि शिक्षक महासंघले वार्तामा बस्न अस्विकार गरेको छ । महासंघका सह–अध्यक्ष एवँ आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले विधेयक संसदमा दर्ता भएर शिक्षा मन्त्रालयको क्षेत्राधिकार भन्दा बाहिर गईसकेका कारण वार्तामा बस्नुको औचित्य नभएको बताउनुभयो ।

महासंघले शिक्षा विधेयकमा आफ्ना मागहरु नसमेटिएको भन्दै भोलिदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको छ । जसअनुसार भोलीवाट देशभरका बिद्यालयको पठनपाठन अनिश्चितकालका लागि बन्द हुनेछ । काठमाडौं केन्द्रित आन्दोलनकालागि देशभरवाट शिक्षक र बिद्यालयका कर्मचारी काठमाडौं आउने क्रम जारी छ । शिक्षक महासंघले देशभरका शिक्षक र बिद्यालय कर्मचारीलाई अनिवार्य आन्दोलनमा सहभागी हुन भनेको छ । महासंघको निर्देशन अनुसार जिल्ला–जिल्लावाट बस रिर्जभ गरेर शिक्षकहरु काठमाडौं केन्द्रित भईरहेका छन् ।

काठमाडौं उपत्यका वरपर रहेका बागमती प्रदेशका जिल्लाका शिक्षकहरुलाई विशेष निर्देशन सहित अनिवार्य सहभागिताकालागि ह्विप जारी गरिएको छ । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, दोलखा, सिन्धुली लगायतका जिल्लावाट ठूलो संख्यामा शिक्षकहरुलाई उपत्यका उतार्ने महासंघको तयारी छ । शिक्षकहरु भोली माइतिघर मण्डलामा केन्द्रित हुने र काठमाडौं ठप्प पार्ने गरी प्रदर्शन गर्ने तयारी छ ।

शिक्षक महासंघले संसदमा प्रस्तुत बिधेयकमा संशोधन गर्नु पर्ने १८ बुँदे माग अघि सारेको छ । जसमा सरुवा, बढुवा, दरवन्दी, स्थानीय पालिका अन्तर्गत नबस्ने लगायतका मागहरु रहेका छन् ।