images
images

भौतिक पूर्वाधार कार्यालय चरिकोटका सबइन्जिनियर र सुपरभाइजर भ्रष्टाचार मुद्धामा दोषी ठहर

जिरी(दोलखा) । दोलखाको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर र सुपरभाइजर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले मुद्दा दायर भएको डेढ महिनामै फैसला फैसला गरी भौतिक पूर्वाधार कार्यालय चरिकोटका सबइन्जिनियर र सुपरभाइजरलाई दोषी ठहर गरेको हो । हिजो न्यायाधीशहरू खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले गरेको फैसलाले एक प्रतिवादी जिरी नगरपालिका–५ का सुम्बा शेर्पालाई भने सफाइ दिएको छ । कालिञ्चोक गाउँपालिका–८ का अन्दाजी ३५ वर्षीय नहकुल शिवाकोटी र कार्यालयका सबइन्जिनियर हिराबाबु थापा भने दोषी ठहर भएका हुन् ।

विशेष अदालले थापालाई ४ महिना कैद र ८० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ । यसैगरी, सिवाकोटीलाई भने मतियार ठहर गर्दै आधा सजाय गरिएको छ । उनले जरिवानाबापत ४० हजार तिर्नुपर्नेछ भने २ महिना कैद सजाय सुनाइएको छ ।

प्रहरीले दोलखा सदरमुकाम चरिकोटबाट ८० हजार नगद सहित पक्राउ गरेका उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय दोलखाले प्राप्त प्रमाणसमेत संकलन गरी अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको थियो । कार्यालयका सबइन्जिनियर हिराबाबु थापाले घुस रकम लिन सुपरभाइजर नहकुल सिवाकोटी र सुम्बा शेर्पालाई पठाएको अनुसन्धानले देखाएको थियो ।

दोलखाको बिगु गाउँपालिका वडा नं ३ स्थित लाकुरीडाँडा–पीपलडाँडा ग्रामीण सडकको स्तरोन्नतिका लागि घुस मागिएको थियो । कमिसनबापत भन्दै ८० हजार रुपैयाँ लिएको खुलेपछि तीनैजनालाई प्रतिवादी बनाउँदै गत साउन १४ गते मुद्दा चलाइएको थियो ।