images
images

मिलिजुली कालिञ्चोक साकोसद्धारा १६ लाख राहत प्रदान

  • ३ आश्विन २०८१, बिहीबार १८:३०

दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा सहकारीका ३३२ सदस्यलाई १६ लाख ३२ हजार बढी राहत प्रदान गरेको छ ।

मिलिजुली कालिञ्चोक साकोसले गत वर्ष सदस्य तथा उनीहरुको परिवारका सदस्यको मृत्यु भएमा प्रदान गरिने राहत कार्यक्रम अन्र्तगत ३३२ सदस्यलाई १६ लाख ३२ हजार २५० रुपैयाँ प्रदान गरेको हो । सहकारीले संस्थाको आम्दानीबाट राहत कोष खडा गरि पुरुष सदस्यको हकमा बाबु, आमा, श्रीमती तथा महिला सदस्यको हकमा सासु, ससुरा, श्रीमान र आफु स्वयमको मृत्यु हुँदा हकवालाहरुलाई राहत दिने गरेको सहकारीका सचिव ठाकुर प्रसाद पाठकले जानकारी दिनुभयो ।

सहकारीले गत आर्थिक वर्ष ज्येष्ठ शेयर सदस्य भत्ता वापत २४७ जना शेयर सदस्यलाई ५ लाख ९२ हजार ८ सय प्रदान गरेको छ । सहकारीले संस्थामा शेयर सदस्य बनेको १० वर्ष पुरा भएको र ७० वर्ष उमेर पुगेका शेयर सदस्यहरुलाई वार्षिक २४ सयका दरले ज्येष्ठ शेयर सदस्य भत्ता उपलब्ध गराउँदै आएको छ ।

२३ हजार ८३६ जना शेयर सदस्य रहेको मिलिजुली कालिञ्चोक साकोसको कुल पूँजी १ अर्व ४५ करोड २७ लाख ४७ हजार ९८३ रुपैयाँ रहेको छ । सहकारीको गत आर्थिक वर्षको अन्त्यसम्म ९६ करोड ८२ लाख ८४ हजार १४९ रुपैयाँ ऋण लगानीमा रहेको मिलिजुली साकोसका कोषाध्यक्ष सुरेशचन्द्र खड्काले जानकारी दिनुभयो ।

७ करोड ४३ लाख ६२ हजार ६०० सय शेयर पूँजी रहेको सहकारीमा आर्थिक वर्षको अन्त्यसम्ममा ९८ करोड ३१ लाख ३४ हजार ७२३ रुपैयाँ बचत बाँकी रहेको छ । मिलिजुली साकोसको हाल १८ करोड ६ लाख ७५ हजार ६५१ रुपैयाँ तरलता रहेको छ । सहकारीको आज सदरमुकाम चरिकोटमा सम्पन्न एकाईगत साधारणसभामा सार्वजनिक प्रतिवेदनमा यस्तो जानकारी गराईएको हो ।

मिलिजुली कालिञ्चोक साकोसका अध्यक्ष कृष्णबहादुर गौतमको अध्यक्षतामा सम्पन्न एकाईगत साधारणभाको भीमेश्वर नगरपालिका–३ का वडाअध्यक्ष हरीशरण शिवाकोटीले उद्धघाटन गर्नुभएको थियो ।