दोलखा । सहकारीबाट ऋण लिएर नतिर्ने क्रम बढेपछि दोलखाका सहकारी संस्थाहरुले धमाधम धितो लिलाम गर्न थालेका छन् ।
खराब कर्जा बढ्दै गएपछि जिल्लाका सहकारी संस्थाहरुले धितो लिलाम गर्न थालेका हुन् । जिल्लाको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले गत असोज २५ गते ८ जनाको धितो लिलाम गरेको छ । जनसचेतन साकोसले गत भदौ २१ गते ३५ दिने सूचना जारी गरी ऋणको भाका नाघेका १४ जना ऋणिको नाम प्रकाशित गर्दै समयमै कर्जा तिर्न आग्रह गरेको थियो । ति मध्ये ८ जनाले कर्जा चुक्ता नगरेपछि धितो लिलाम गरिएको हो । जनसचेतन साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज दहालले बित्त बजारमा तरलताको संकट निम्तिएसँगै ऋण असुली प्रक्रियामा त्यसले असर पु¥याएको भन्दै संस्थामा विगतको तुलनामा खराब कर्जा बढेको जानकारी दिनुभयो । सिईओ दहालले पछिल्लो समय संस्थामा भाखा नाघेको ऋण बढ्दै गएकाले धितो लिलामी प्रक्रिया सुरु गर्न संस्था बाध्य भएको बताउनुभयो । संस्थाले समयमै ऋण चुक्ता नगर्ने थप ऋणिहरुको धितो लिलाम प्रक्रियाका लागि ३५ दिने सूचना जारी गर्ने प्रक्रियामा रहेको उहाँको भनाई छ ।
चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सिईओ ईश्वर न्यौपानेले बिगतको तुलनामा संस्थामा खराब कर्जा बढेकाले समयमै कर्जा नतिर्ने सदस्यहरुलाई ऋण तिर्न ताकेता गरिएको जानकारी दिनुभयो । यद्यपि समयमा ऋण नतिरे धितो लिलाम प्रक्रियामा जाने बिषयमा छलफल भैरहेको सिईओ न्यौपानेले बताउनुभयो । उहाँका अनुसार सहकारीले २०७५ सालमा ५ जनाको धितो लिलाम गरी संस्थाको कर्जाको साँवा र व्याज असुली गरेको थियो ।
जिरीस्थित एकिकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले पनि ३५ दिने सूचना जारी गरी ऋणिहरुलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ । एकीकृत फ्रेण्डसिप साकोसले २५ जना ऋणिहरुको नाम सार्वजनिक गर्दै समयमै ऋण चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको हो । सहकारीले सम्बन्धित व्यक्तिले ऋणको सम्पूर्ण सावाँ तथा सो संस्थाको नियमानुसार लाग्ने ब्याज र बिलम्ब शुल्कसमेत फस्र्यौट गर्न ऋणिहरुलाई आग्रह गरेको छ । अन्यथा कानुन बमोजिम संस्थाले आफ्नो लिनुपर्ने रकम सावाँ, ब्याज र बिलम्ब शुल्क समेत असुल गरी लिने र ऋण नतिर्ने व्यक्तिहरुको नाम कालोसूचीमा समावेश गरी नियामक निकायमा जानकारी गराउने चेतावनी समेत दिएको छ ।
ऋण नतिर्ने व्यक्तिहरुमध्ये केही व्यक्तिहरुको नाम दुबै सहकारीको धितो लिलामी प्रक्रिया सम्बन्धि सूचनामा प्रकाशित भएको छ । एउटै व्यक्ति धेरै सहकारीमा आबद्ध भई कर्जा लिने प्रबृत्तिले सहकारी क्षेत्रमा खराब कर्जा बढ्दै गएको बिश्लेषण गरिएको छ । धेरै सहकारीबाट कर्जा लिने र समयमै चुक्ता नगर्दा सहकारी संस्थाको खराब कर्जा बढ्दै गएको हो । बित्तिय क्षेत्रमा ५ प्रतिशत भन्दा बढी खराब कर्जा भएका संस्थालाई जोखिम मानिन्छ ।



सिर्जना थापा खड्का 






