रामेछाप । रामेछापस्थित खानेपानी तथा सरसफाई कार्यालयका इन्जिनियर २८ लाख घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापस्थित खानेपानी तथा सरसफाई कार्यालय नम्बर ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखत बहादुर थापालाई घुस रकम सहित पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अख्तियारको केन्द्रिय कार्यालयको टोली रामेछापमा रहेको र सो टोलीले उनीहरुलाई पक्राउ गरेको पुष्टि गर्नुभयो । अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका वडा नम्बर १ स्थित खानेपानी कार्यालयको क्वाटरबाटै पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १५ लाख नगद र १२ लाखको चेक गरी २८ लाख बरामद गरिएको अख्तियार स्रोतले बताएको छ । रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कामको भुक्तानी वापत उनीहरुले रकम लिएको अख्तियारको भनाई छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको अख्तियार स्रोतले बताएको छ ।










