images
images

नव जनउत्थान साकोसमा १३ करोड बढी बचत, गत आर्थिक वर्ष ३० लाख खुद मुनाफा

  • २ कार्तिक २०८०, बिहीबार ०७:४०

(जिरी) दोलखा । दोलखाको वैतेश्वर गाउँपालिका–३ खावास्थित नवजनउत्थान बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पति १८ करोड नाघेको छ ।

नव जनउत्थान साकोसको गत असार मसान्तसम्मको कुल सम्पति १८ करोड ६८ लाख १३ हजार १६ रुपैयाँ पुगेको हो । खावा बजारमा हिजो सम्पन्न एकिकरणपछिको तेश्रो साधारण सभामा यस्तो जानकारी दिईएको हो । संस्थाका कोषाध्यक्ष सुकु शेर्पाका अनुसार संस्थाको वचत निक्षेप १३ करोड ७३ लाख ८० हजार ५ सय ९० र शेयर पुँजी १ करोड ८० लाख ९४ हजार ३ सय पुगेको छ । नव जनउत्थान साकोसले गत असार मसान्तसम्म १५ करोड १८ लाख ३८ हजार ३ सय ३५ रुपैयाँ ऋण लगानी गरेको छ ।

दोलखाको वैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाका केही वडा कार्य क्षेत्र रहेको नवजनउत्थान साकोसले गत आर्थिक बर्षको कारोबारवाट २ करोड ३४ लाख ७६ हनार ८ सय ९९ आम्दानी गरेकोमा २ करोड ४ लाख ३ हजार ८ सय २० रुपैयाँ खर्च भई ३० लाख ७३ हजार ७९ रुपैयाँ मुनाफा गरेको छ । संस्थाले सेयरधनीहरुलाई ८ प्रतिशतका दरले बोनस बितरण पनि गरेको छ । संस्थाका सचिव केदार दहालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाल कायम रहेको २ हजार ५ सय ६५ सदस्य संख्यालाई बृद्धि गरी २ हजार ६ सय ९३ पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो ।

नव जनउत्थानले क्षेत्रगत रुपमा साधारण सभा सम्पन्न गरेपछि हिजो खावास्थित मुख्य कार्यालय परिसरमा अन्तिम साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाको नेफ्स्कुनका सञ्चालक सदस्य तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडका महासचिव जिवसराज खड्काले उद्घाटन गर्नुभएकोे थियो । साकोसका अध्यक्ष तेन्जीङ शेर्पाको अध्यक्षतामा सम्पन्न साधारण सभामा जिरी नगरपालिकाका नगरप्रमुख मित्रबहादुर जिरेल, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमीराज खड्का, जनसचेतन साकोसका उपाध्यक्ष गोपालध्वज श्रेष्ठ, जनमुखी साकोसका अध्यक्ष माधवप्रसाद दहाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नव जनउत्थान साकोसका उपाध्यक्ष नुर्वु शेर्पाले संस्थाको गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो भने लेखा सुपरिवेक्षण समितिका संयोजक सिताराम दहालले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । साधारण सभामा उत्कृष्ट वचतकर्ता, उत्कृष्ट ऋणी, एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी लगायतलाई नगद सहित सम्मान गरिएको थियो ।