images
images

सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति गुरुङ र लेखा समिति सभापति पोखरेल पत्नीलाई होला कारवाही ?

  • ३ कार्तिक २०८१, शनिबार ०७:५५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि सहकारी ठगीमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ सहितका व्यक्तिलाई कारवाही हुन्छ की हुँदैन भन्ने विषयमा चासो बढेको छ ।

संसदीय छानबिन समितिले सहकारी ठगीमा लामिछानेको प्रत्यक्ष संलग्नता नरहेको देखाएपनि प्रहरीले पक्राउ गरेपछि कांग्रेस उपसभापति गुरुङ र एमाले सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलकी पत्नी अन्जला कोईरालालाई कारबाही हुन्छ की हुँदैन भन्ने विषयमा चासो बढेको हो । संसदीय छानबिन समितिले समेत दोषी ठहर गरेर कारबाही सिफारिस गरिसकेका कांग्रेस उपसभापति गुरुङविरुद्ध छानविन प्रक्रिया अघि बढ्छ की बढ्दैन भन्ने विषय अहिलेको चासोको विषय बनेको छ ।

कांग्रेस उपसभापति धनराज गुरुङ ललितपुरस्थित मितेरी सहकारीको करिव १५ करोड हिनामिनामा प्रत्यक्ष जोडिएपनि सरकारको प्रभावमा राज्यसंयन्त्रहरुले नै संरक्षण गरिरहेको आरोप लागेको छ । सहकारीको रकम हिनामिनाको आरोपबाट जोगिन धनराजले पत्नी ज्योती गुरुङसँग कागजी सम्बन्ध विच्छेद गरेको समेत पुष्टी भईसकेको छ । २०७६ फागुनमै सम्बन्ध विच्छेद गरेको बताउँदै आएका गुरुङले श्रीमती ज्योतीलाई नै हकवाला उल्लेख गर्दै २०७७ फागुन ३ गते मितेरी सहकारीबाटै थप १२ लाख ऋण लिएको भेटिएको छ ।

उपसभापति गुरुङ र उनकी पत्नी ज्योतिसहित पाँचजनाले करिव १४ करोड ८१ लाख हिनामिना गरेको भन्दै सहकारीले बागमती प्रदेश सहकारी रजिष्टार र प्रहरीमा पनि उजुरी दिएको थियो । रवि पक्राउ परेपछि संसदीय छानविन विशेष समितिले नै दोषी ठहर गरेका गुरुङको विषयमा के हुने भन्ने चासो बढेको हो ।

यस्तै, एमाले संँसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलकी पत्नी अन्जला कोईरालालाई पनि सरकारकै प्रभावमा उन्मुक्ति दिनेगरि फाईल अघि बढाईएको आरोप छ । मोरङको उमागौरी कृषी सहकारीको १४ करोड ५६ लाख हिनामिनामा मुछिएपनि कोशी प्रदेश सहकारी रजिस्टारको कार्यालयले कोईरालाको नाम काटेरी प्रहरीलाई अनुसन्धानका लागि पत्राचार गरेको थियो । उनी ६ वर्ष सहकारीको सञ्चालक रहेपनि सो अवधिको १० वर्षका कागजपत्र नै गायव पारिएको बताईएको छ ।