images
images

ढुक्क भएर मतदान गर्न आयोगको अपिल, अवरोध गर्नेलाई कारवाही गर्न निर्देशन

  • ३ मंसिर २०७९, शनिबार १४:४९

काठमाडौं । निर्वाचन आयोगले मतदान प्रक्रियामा अवरोध गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।

आज आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान प्रक्रियामा अवरोध गर्नेलाई कारबाही गर्न निर्देशन दिनुभएको हो । निर्वाचनको निष्पक्षतामा प्रभाव पार्नेगरी कुनै डर त्रास देखाई मतपेटिका नियन्त्रण गर्न खोज्ने, मतदानको अधिकार नभइ मतदान गर्न खोज्ने लगायतका अवाञ्छित काम गर्नेलाई कानुन बमोजिम कारबाही गर्न निर्देशन दिइएको उहाँले जानकारी गराउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहिँ कतैबाट प्रश्न नउठोस् भन्ने उद्देश्यले मतदान हुने दिन मतदान कार्यमा खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्य पालना गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौंडामा छेकी मतदान केन्द्रमा जान नदिने, मतपेटिका तथा मतदान सामग्री खोस्न वा नष्ट गर्न खोज्ने, वादविवाद वा हुलहुज्जत वा असामान्य अवस्था सिर्जना गर्ने, मतपत्रको दुरुपयोग गर्ने, मतदानको अधिकार विना मतदान गर्न खोज्ने, पटक–पटक मतदान गर्न खोज्ने, मतदान अधिकृतले निषेध गरेको कुरा गर्न खोज्ने जो कोहीलाई कानुन बमोजिम कारबाही गरी मतदाताको स्वतन्त्रता र स्वच्छतालाई कायम गर्न निर्वाचनको काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक लगायतलाई आवश्यक निर्देशन दिइएको बताउनुभयो ।

थपलियाले भयमुक्त, स्वतन्त्र र निष्पक्ष ढंगले चुनाव सम्पन्न गराउनको लागि आयोगले व्यवस्थापकीय र सुरक्षाका सबै तयारी पूरा गरेकाले कसैको डर, धम्की र लोभमा नपरी आफूलाई मन परेको उम्मेदवार र पार्टीलाई मत दिन पनि मतदातालाई आग्रह गर्नुभएको छ । मतदानको ४८ घण्टा अघिदेखि सुरु भएको प्रचार प्रशार निषेधको अवधिमा कानुन पालना भए/नभएको विषय आयोगले विशेष सुक्ष्म अनुगमन गरिरहेको र सञ्चारमाध्यम र सामाजिक सञ्जालका सूचनालाई समेत जानकारी लिएर नियमन र निगरानी गरिरहेको  उहाँले बताउनुभयो ।

मतदानको दिन सञ्चारमाध्यम तथा अत्यावश्यक सेवाका सवारी साधनका लागि सवारी अनुमतिपत्र नचाहिने पनि थपलियाले स्पष्ट पार्नुभयो ।