images
images

दोलखामा तीन लाख नगद सहित एमालेका दुई कार्यकर्ता पक्राउ

  • ३ मंसिर २०७९, शनिबार १८:४४

दोलखा । दोलखामा तीन लाख नगद सहित नेकपा एमालेका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा उम्मेदवार बनेर पराजित भएका जीपछिरिङ शेर्पा र एमालेका कार्यकर्ता सोनाम शेर्पालाई प्रहरीले आज रकम सहित पक्राउ गरेको हो । पक्राउ परेका शेर्पा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु दोलखाका जिल्ला सहसंयोजक समेत हुन् । निर्वाचनको स्थिर समयमा मतदातालाई प्रभावित पार्न पैसा बाड्न ल्याएको भन्ने सुचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । गौरीशंकर गाउँपालिका वडा नम्बर ५ सुरीको तिनेखुबाट मोटरसाइकलमा राखेर रकम ल्याउँदै गरेका उनीहरुलाई प्रहरीले वडा नम्बर ३ को सर्सेपु आधारभुत विद्यालय मतदान केन्द्र नजिकैबाट तीन लाख नगद सहित पक्राउ गरेको छ । सुरुमा उनीहरुको साथबाट दुई लाख नगद बरामद गरेपनि पछि खानतलासि गर्ने क्रममा थप एक लाख नगद बरामद भएको प्रहरीले जनाएको छ ।

बा ६४ प ९३४२ नम्बरको २२० सिसिको पल्सर बाइक सहित पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सिंगटीमा राखेर अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिएसपी गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनको स्थिर समयमा मतदालाई प्रभावित पार्नका लागि पैसा लिएर आउँदै गरेको सुचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । यद्यपी सो पैसा कुन प्रयोजनका लागि कहाँबाट ल्याएको भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी पौडेलले बताउनुभयो । पक्राउ परेकाहरुले भने आफुहरुले होटलमा खाजा खाएको पैसा तिर्न सापटी गरेर ल्याएको बताएका छन् । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।