दोलखा । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलबिद्युत केन्द्रको कवाडी सामान चोरीको अभियोगमा पक्राउ परेकालाई हाजिर जमानीमा रिहा गरिएको छ ।
माथिल्लो तामाकोशीको लाखौंको कवाडी चोरी गरेको आरोपमा पक्राउ परेकाहरुलाई दुई दिनमै हिरासतमुक्त गरी हाजिर जमानीमा रिहा गरिएको हो । तामाकोशीको कवाडी सामान चोरी गरी विक्रि गरेको आरोपमा दोलखा प्रहरीले पक्राउ गरेका गौरीशंकर गाउँपालिका–७ मार्वुका कामे भनिने छिरिङ शेर्पा र बिगु गाउँपालिका–१ लामावगरका निमा तामाङ जिल्ला सरकारी वकिल कार्यालयको आदेश वमोजिम रिहा भएका हुन् ।
पक्राउ लगत्तै प्रहरीले बुझाएको थियो मुद्धा
असोजको बाढी पहिरोले क्षतिग्रस्त माथिल्लो तामाकोशी जलबिद्युत केन्द्रको कवाडी सामान लामावगरमा चोरी गरी विक्रि गरेको आरोपमा छिरिङलाई कार्तिक २७ गते र निमालाई कार्तिक २८ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेको २ दिनमै प्रहरीले अनुषन्धान सकेर सरकारी वकिल कार्यालयमा मिसिल बुझाएको थियो । मिसिल बुझाएकै दिन अर्थात कार्तिक ३० गते जिल्ला न्यायधिवक्ता सोमराज काफ्लेले उनीहरुलाई हाजिर जमानीमा छाड्न आदेश दिएका थिए ।
जिल्ला न्यायधिवक्ताको आदेश वमोजिम चोरीमा संलग्न भएका भनिएका छिरिङ र निमा तथा चोरीको कवाडी सामान खरिद गर्ने बिधिचन महतो कोईरीलाई दोलखा प्रहरीले हिरासतमुक्त गरेको छ । माथिल्लो तामाकोशीको कवाडी सामान चोरी भएको उजुरीपछि प्रहरीले कार्तिक १७ गते महतोलाई पक्राउ गरेको थियो ।
न्यायधीवक्ता भन्छन्–‘थप अनुसन्धान जरुरी देखियो’
जिल्ला न्यायधिवक्ता सोमराज काफ्लेले गरेको आदेशमा ‘प्रतिवादीहरुको थप बयान गर्नु पर्ने अवस्था देखिएकाले प्रतिवादीहरुको अविलम्व थप बयान गरी, हदम्याद नगुज्रने गरी राय प्रतिवेदनसहित सक्कल मिसिल पेश गर्न’ भन्दै मुद्धाको मिसिल फिर्ता गरिएको छ । साथै, प्रतिवादीहरुलाई हिरासतमा राख्नकालागि म्याद नभएको देखिएकाले प्रतिवादीहरुलाई खोजिएका बखत उपस्थित हुने सुनिश्चितता सहित जिम्मेवार व्यक्तिको जमानीमा छाड्न भनिएको छ ।
कवाडी सामान चोरीमा ठूलै गिरोहको ‘कनेक्शन’ रहेको र राजनीतिक दवावमा उनीहरुलाई ‘सेटिङ’ मा छाडिएको आशंका छ । पक्राउ परेको २ दिनमै प्रहरीले मुद्धाको मिसिल सरकारी वकिल कार्यालयमा पेश गर्नु र जिल्ला न्यायधिवक्ताले लाखौंको सामान चोरी भएको मुद्धामा हाजिर जमानीमा छाड्न आदेश गर्नु अर्थपूर्ण रहेको छ ।
यसरी चोरिएको थियो लाखौँको कवाडी
जिल्ला न्यायधिवक्ता काफ्लेले भने अनुषन्धानलाई प्रभावकारी बनाउन र थप तयारीकालागि मुद्धाको मिसिल फिर्ता गरेर हाजिर जमानीमा छाड्न आदेश दिएको प्रतिक्रिया दिनुभयो । उहाँले चोरी मुद्धाको प्रारम्भिक सुनुवाई गरेर मिसिल फिर्ता गरिएको र प्रहरीको थप अनुषन्धान र रायसुझाव पछि थप प्रक्रिया अघि बढ्ने बताउनुभयो ।
गत असोज ११ र १२ गतेको भीषण बर्षा र त्यसपछिको बाढी पहिरोले माथिल्लो तामाकोशी जलबिद्युत केन्द्रको हेडवक्र्स, कन्ट्रोल बिल्डिङ लगायतका संरचनामा क्षेति गरेपछि त्याहाँवाट निस्किएको कवाडी सामान चोरी भएको थियो । पहिरोले क्षेतिग्रस्त संरचनालाई हटाउने काम भइरहेका बेला त्याहाँ निस्किएको इलेक्ट्रिक उपकरणसहितका कवाडी सामानहरु तिहारका बेला हराएको थियो ।