images
images

उमाकुण्डमा बोलेरो दुर्घटनामा परी गम्भीर घाइते भएका लिखु तामाकोशीका वडा सदस्यको मृत्यु

  • ४ पुष २०७९, सोमबार १०:१५

जिरी (दोलखा) । रामेछापको उमाकुण्डमा बोलेरो दुर्घटनामा परी गम्भीर घाइते भएका वडा सदस्यको मृत्यु भएको छ ।

शनिवार उमाकुण्ड गाउँपालिका वडा नम्बर ७ भूजीको एकरातेमा बोलेरो दुर्घटनामा परि गम्भीर घाइते भएका लिखु तामाकोशी गाउँपालिका १ दुरागाउँका वडा सदस्य बिमल सुनुवारको उपचारको क्रममा आज विहान करिब २ बजे मृत्यु भएको हो । उमाकुण्ड लिग हेर्न दुरागाउँबाट भुजीतर्फ जाँदै गरेको बा ११ च ७५९१ नम्बरको बोलेरो अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । सो क्रममा उनी सहित ६ जना गम्भीर घाइते भएका थिए । उनलाई हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं उपचारका लागि लगिएको थियो । तर आर्मी अस्पतालमा उपचारका क्रममा सुनुवारको आज विहान मृत्यु भएको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी दिनुभयो । नाक र टाउँकोमा गम्भीर चोट रहेको उनको टाउँकोको शल्यक्रिया सफल भएपनि ज्यान गएको अध्यक्ष महतले बताउनुभयो । उनी रिटाएर आर्मी समेत हुन् ।

उनीसँगै ३४ वर्षीय राज कुमार थापा, ३० वर्षीका सिता कार्की र मनिता खड्का, ३२ वर्षीकी बिमला सुनुवार, २३ वर्षीय सृष्टि सुनुवार, १६ वर्षीय नरेश खड्का, ४० वर्षीय दीपक सुनुवार घाइते भएका थिए । गम्भीर घाइते भएका वडा सदस्य सहित ३ जनालाई अन्नपूर्ण हेलिकप्टर मार्फत काठमाडौँ उपचारको लागि लगिएको थियो । दुर्घटनामा ९ जना घाइते भएपनि तीन जनाको अवस्था सामान्य थियो । अन्य घाइतेहरुको उपचार भइरहेको छ ।