काभ्रेपलाञ्चोक । भक्तपुरमा बलात्कार गरी कुवेत पुगेका काभ्रेपलाञ्चोकका युवक इन्टरपोलको सहयोगमा पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–८ का ३१ वर्षीय उमेश लामा इन्टरपोलको सहयोगमा पक्राउ परेका हुन् । लामाविरुद्ध प्रहरी वृत्त जगती भक्तपुरमा जबरजस्तीकरणी मुद्दामा मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुलासा भएको थियो । अन्तर्राष्ट्रियस्तरमा खोजीकार्य गर्न गत असोज ११ गते नेशनल सेन्ट्रल ब्यूरो(एनसिबी) काठमाडौंको अनुरोधमा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।
एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरी उनलाई जबरजस्तीकरणी मुद्दामा कारबाही गर्न आज नेपाल फिर्ता ल्याइएको छ । प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ ।










