images
images

चरिकोटमा भीमेश्वर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • ३ पुष २०८०, मंगलवार १९:४३

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाका अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नगरपालिकाको आयोजना र कालिञ्चोक माविको व्यवस्थापनमा आजबाट सुरु भएको हो । प्रतियोगिताको बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले उद्धघाटन गर्नुभयो । भीमेश्वर नगरपालिकाका २० वटा माविमध्ये १८ वटा माविका खेलाडीहरु सहभागी भएका छन् । जसमा कालिञ्चोक मावि, पशुपति कन्या मन्दिर मावि, कुटिडाँडा मावि, भिम मावि, महेन्द्रोदय माविलगायत सामुदायिक र संस्थागत विद्यालयहरु सहभागी भएको भीमेश्वर शिक्षा, युवा तथा खेलकुद शाखाका स्रोत व्यक्ति सुन्दर खड्काले जानकारी दिनुभयो । १८ वटा विद्यालयहरुको सहभागीता रहेको प्रतियोगितामा भलिबल, एथ्लेक्टिस, हाइजम्प, त्रिपलजम्प, लङजम्प लगायतका खेलहरु समावेश गरिएको छ ।

आजको प्रतियोगिता भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरको अध्यक्षतामा भएको उद्धघाटन समारोहमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, भिमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, नेकपा एकीकृत समाजवादीको पालिटब्यूरो सदस्य एवं दोलखा इन्चार्ज शिवप्रसाद भण्डारी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरबहादुर पाख्रिनलगायतको उपस्थिति रहेको थियो ।