
सुर्खेत । सुर्खेतमा घरभित्र निसास्सिएर आमा छोराको मृत्यु भएको छ ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमा छोराको निसास्सिएर मृत्यु भएको हो । भैरवस्थानकी ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापको मृत्यु भएको प्रहरीले जनाएको छ । बेलुका खाना खाएर सुतेका उनीहरु बिहान अबेरसम्म कोही घरबाहिर ननिस्किएपछि प्रहरीलाई जानकारी गराईएको थियो ।
घटनास्थलमा पुग्दा तीनै जनालाई अचेत अवस्थामा फेला पारिएको र तत्काल उद्धार गरि उपचारका लागि अस्पताल लगिएकोमा अस्पतालले आमा छोरालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक देवीसराकी छोरी ९ वर्षीया रिया थापाको भने कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको छ ।
घरभित्र कोईला बालेको र उनीहरु धुँवाले निसास्सिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी, डिएसपी विरेन्द्रविर विश्वकर्माले जानकारी दिनुभयो ।